धनगढी। बझाङमा सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ। गाडी दुर्घटनामा घाईते भएका मन्त्री सिंहलाई बझाङस्थित रितु पोलिक्लिनिकमा उपचारका लागी लगिएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएको डाक्टर रञ्जित चौरासियाले बताए। साथै उनको नाकबाट अत्यधिक रक्तश्राव भएको, अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल भने अधिक रहेको बताए। उनलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ ।
उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो। त्यस्तै, उपचारमा संलग्न चिकित्सकले मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको घटना स्लमै मृत्यु भएको बताएका छन् । मंगलबार मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।दुर्घटनामा परि मन्त्री सिंह सहित ५ जना घाइते भएका थिए। जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ।