कञ्चनपुर। कञ्चनपुरका बाढी पिडित डेढ दशकदेखि वन क्षेत्रमा बसोबास बसिरहेका छन्। कञ्चनपुरमा २०६४/ ०६५ सालमा दोदा नदीको बाढीका कारण घर तथा जमिन कटान गरेर लगेपछि पिडितहरु विस्थापित भएर सामुदायिक वन क्षेत्रमा बसिररहेका हुन्।
कञ्चनपुरको लालझाडी गाउँपालिका ४ मा पर्ने कञ्चन सामुदायिक वन क्षेत्रमा बाढी पिडित घरहरु निर्माण गरेर बसेका छन् । भने पछिल्लो समय कोही वनमै पक्की संरचनाहरु निर्माण पनि गरिरहेका छन् । वरपर रुखहरुबीच माटोले लिपपोत गरेर चिटिक्क पारिएका घरहरु वनभन्दा पनि बाक्ला देखीएका छन्। वनको बीच भएर सडक पनि निर्माणाधीन अवस्थामा छ। लालझाडी गाउँपालिका ४ खल्लाजाँइका मोलसिंह रानाको तीन बिघा जमिन कटान गरेर एक बिघा जमिन मात्रै बाँकी राखेको छ।
दोदा नदी किनारको जमिनमा धान, गहुँ र तरकारी राम्रै उत्पादन भएपनी बर्खामा बाढी आएर खेतीपाती समेत बगाएर लैजाने गरेको बताए । जमिन डुबान हुन थालेपछि बर्खामा पानी भरिएर नदी जस्तै बन्ने र कटानले समस्या निम्तीएको रानाले बताए । २०६४ देखि दोदाले विकराल रुप लिन थालेपछि २०६५ मा परिवार खल्लाजाँइबाट सामुदायिक वन भएको डाङा जाँइमा सरेको उनले बताए ।
अहिले नदी किनारको जमिनमा बर्खा बाहेकको समयमा लहरे तरकारी खेती गरिरहेका छन् । त्यसैबाट घर परिवारको गुजारा चलिरहेको छ । बर्खा लागे पनि कुन नदी हो र कुन जमिन छुट्याउनै सकिँदैन ।
सामुदायिक वनमै घर बनाएर बसोबास गरिरहेका नन्दराम रानाको पनि २०६५ मा दोदा नदीको बाढीले २ बिघा जमिन बगर बनायो । उनी पनि त्यहिबेलादेखि सामुदायिक वनमा छाप्रो बनाएर बस्न थालेका हुन् ।नदी किनारमा बगर खेती गर्छु, घरमै पसल राखेको छु,’ रानाले भने, ‘हिउँदमा त दोदा किनार बगर खेतीले हराभरा हुन्छ, तर बर्खामा पनि बाढीले पूरै जलमग्न बन्छ ।’ उनका अनुसार २०६४ र ०६५ मा दोदा नदीको बाढीका कारण खल्लाजाँइका ३ सय बढी परिवार विस्थापित भएका थिए । उनीहरु सबै सामुदायिक वनमै बसिरहेका छन्।
डाँङा जाँइमा पर्ने सामुदायिक वन क्षेत्र अग्लो स्थानमा भएकाले पनि विस्थापितहरु यहाँ बसोबास गरिरहेका हुन् । उनीहरुको बसोबासको हालसम्म उचित व्यवस्थापन नभएका कारण पनि वनमै बस्नुपरेको बताउँछन् । वनछेउमै रहेको नदी किनारको बगरमा हिउँदमा लहरे तरकारी खेती पनि गर्न सकिने भएकाले उनीहरु यहीँ बसोबास गरिरहेको बताउँछन् ।बर्खापछि हिउँदमा लगाएको लहरे तरकारीहरु काँक्रा, लौका, फर्सी, करेला र तरभुजा लगायतको उत्पादनले घर परिवारको खर्च चलिरहेको छ । एउटै परिवारले बगर खेतीबाट दुई÷तीन लाखसम्म आम्दानी गरिरहेको छ । बगरमा भएको उत्पादन साइकल, गोरुगाडा र ट्र्याक्टरमा राखेर उनीहरु गाउँ गाउँ डुलेर नगद र अन्नसँग साट्ने गर्छन् ।
सामुदायिक वनमै सडक, बिजुलीदेखि सबै पूर्वाधार निर्माण भइरहेको छ । बाक्लै बस्ती भइसकेका कारण हटाउन सकिने अवस्था पनि छैन। विस्थापितदेखि जनप्रतिनिधिसम्मले उनीहरुको व्यवस्थापन सोही क्षेत्रमा हुनुपर्ने भन्दै आएका छन् । ‘अन्यत्र व्यवस्थापन गर्न सकिने अवस्था पनि छैन,’ लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने, ‘विस्थापितहरु पनि अन्यत्र जान चाहँदैनन्, किनकि हिउँदमा बगर खेती गर्न सजलो हुन्छ।’ खल्लाबाट विस्थापित भएर डाँङामा बस्दै आएकी शारदा राना भन्छिन्, ‘पन्ध्र वर्षदेखि हामीहरु वनमा बसिरहेका छौं।
बाढीबाट विस्थापित भएकाले पुनर्स्थापना हुनुपर्ने भन्छन्, तर हाम्रो पुनर्स्थापना कहिले हुन्छ थाहा छैन ।’ उनका श्रीमान मिनबहादुर रोजगारीका लागि भारतको सिमला गएका छन्। घर खर्च चलाउन उनले बगर खेती गरेकी छन्।लालझाडी सब डिभिजन वन कार्यालयका प्रमुख जयनारायण यादवले दोदा नदीले विस्थापित भएकाहरु लामो समयदेखि सामुदायिक वनमा बसिरहेको बताए। उनका अनुसार ३ सय बढी परिवार वनमा बसिरहेका छन्। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिकामा ३८१ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ। अधिकांश वन क्षेत्रमा बाढी विस्थापित भएकाहरु बसोबास गरिरहेका छन्। नदी किनारमा स्थायी तटबन्ध निर्माण हुन सके मात्रै बस्तीसककंगै खेतीयोग्य जमनि जोगाउन सकिने वन क्षेत्रमा पिडितहरुले बताएका छन्।