धनगढी। विश्व खाध स्वच्छता दिवस २०२३ सप्ताहव्यापी रुपमा मनाईने क्रममा सुदुरपश्चिममा जुन १ देखि जून ७ सम्म मनाउन लागिएको छ । सन् २०२३ को विश्व खाध स्वच्छता दिवस आउँदो जुन ७ अर्थात बिस जेठ २४ गते मनाउन लागिएको हो।
सप्ताहव्यापी रुपमा मनाईने क्रम अनुसार आज खाद्य स्वच्छताबारे सबैमा उपभोक्ता सचेतना जानकारीका लागी खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले संदेश सार्वजनिक गरेको जनाएको छ। सम्पूर्ण सरोकारवालाहरुमा खाध स्वच्छताको महत्व र खाध स्वच्छता कायम गर्न सबैको आआफ्नो जिम्मेवारीबारे सचेत गराई आम उपभोक्ताहरुमा स्वच्छ खाध पदार्थको आपूर्तिमा टेवा पुर्याउने उदेश्यका साथ सालबसाली रुपमा मनाउदै आएको बताइएको छ।
कार्यालय प्रमुख नवराज दाहालले खाद्य स्वच्छता कायम गर्न सबैभन्दा महत्वपूर्ण स्तम्भ उपभोक्ता शिक्षा रहेको बताए। यस्तै खाद्य स्वच्छता कायम र नियमन गर्न निरीक्षण, प्रयोगशाला, कानूनी संयन्त्र रहेकाले आफु सचेत भै स्वच्छ र गुणस्तरीय खाद्य खरीद गर्ने र बजारमा कैफियत देखिएमा नियमन निकायमा उजुरी गरी नियमनमा सहजीकरण गर्ने महत्वपूर्ण जिम्मेबारी उपभोक्तामा रहेको बताए । जस अनुसार आम उपभोक्ताहरुले खाद्य पदार्थ खरीद तथा उपभोग गर्दा तपसील बमोजिम सावधान भई उपभोक्ता सचेतको भूमिका निर्बाह गर्नुहुन बिशेष अपील गरेका छन् ।
खाद्यबस्तु खरीद गर्दा अपनाउनुपर्ने साबधानी
१. सिलबन्दी वा डिब्बाबन्दी स्वरुपका खाद्य बस्तु खरीद गर्दा ध्यान दिनुपर्ने कुराहरु
यस स्वरुपका खाद्य तथा पेय पदार्थ खरीद गर्दा सर्वप्रथम लेवल राखेको छ कि छैन त्यो हेर्ने, यदि लेवल नै राखेको छैन भने खरीद नगर्ने । लेवल राखेको छ भने सही हो वा होइन र पूर्ण छ कि छैन त्यो यकिन गर्नुपर्छ । त्यसपछि स्टीकर टांसेर ओरिजिनल लेवलको सूचना लुकाएर नयां सूचना राखेको छ वा केरमेट गरेको छ त्यो हेर्ने । यस प्रकारको अवस्था यदि हो भने त्यस्तो खरीद नगर्ने । तेश्रो चरणमा लेवल सही राखेको छ भने पूर्ण विवरण छ छैन त्यो यकिन गर्नुपर्छ । खाद्य पदार्थको नाम, उत्पादकको स्पस्ट ठेगाना, उत्पादन मिति, व्याच नम्वर, उपभोग गरिसक्नुपर्ने मिति, प्रयोग गरिएका सामग्रीहरु (सम्मिश्रण) र खुद तौलरपरिमाण भएको र खाद्य अनुज्ञापत्र (Food License) नम्वर उल्लेख गरेको र उपभोग्य मिति (Expiry date) समाप्त भइनसकेको यकिन गरेर मात्र खाद्य तथा पेय पदार्थहरु खरीद गर्ने बानी बसाल्नु पर्दछ । यति गरेमा सिलबन्दी वा डिब्बाबन्दी स्वरुपमा खाद्य वस्तु खरीदबाट उपभोक्ता ठगिने सम्भावना कम रहन्छ ।
२. खुला स्वरुपका खाद्य बस्तु खरीद गर्दा ध्यान दिनुपर्ने कुराहरु
यस स्वरुपका खाद्य पदार्थहरु खरीद गर्दा ओसिलो भइ डल्ला परेका, ढुसी लागेका, किराले क्षति पुर्याएका, सडेगलेका, अत्यधिक रंगको प्रयोग गरिएका खाद्य पदार्थहरु खरीद नगर्ने । साथै नछोपी खुल्ला राखेका, झिंगा भन्केका, धूलो, धुंवा तथा फोहोर परेका खाद्य पदार्थहरु खरीद नगर्ने ।
३. ताजा तरकारी तथा फलफूलको स्वरुपका खाद्य बस्तु खरीद गर्दा ध्यान दिनुपर्ने कुराहरु
यस स्वरुपका खाद्य पदार्थहरु खरीद गर्दा कुन ठाउंमा उत्पादित हो र विषादी प्रयोग गरेको हो भने स्वीकृत जिवनाशक विषादीहरु तोकिएको सीमा भित्र प्रयोग गरेको हो वा हैन सोधीखोजी गर्नुका साथै पर्खनुपर्ने अवधि (बारीबाट टिपेको र बेच्न राखेको विचको समय) कटि सकेको हो वा होइन सोधीखाजी गरी यकिन गरेर मात्र खरीद गर्ने र राम्ररी सफा पानीले पखालेर मात्र प्रयोग गर्ने बानी बसाल्ने ।
४. ताजा माछामासुको स्वरुपमा खाद्य बस्तु खरीद गर्दा ध्यान दिनुपर्ने कुराहरु
यस स्वरुपका खाद्य पदार्थहरु खरीद गर्र्दा सर्वप्रथम निरोगी पशुपन्छी वा माछा हो होइन सोधीखोजी गरी निरोगी रहेको यकिन गर्ने। साथै स्वीकृत एटिवायोटिक, हर्मोन र अन्य भेटेरिनरी औषधिहरु मात्र तोकिएको परिधिभित्र प्रयोग गरेको हो वा होइन सोधीखोजी गरी यकीन गरेर मात्र खरीद गर्ने बानी गर्ने हो भने घेरै हदसम्म ठगिने सम्भावना कम हुन्छ । साथै मासु काट्ने ठाउंमा झिंगा नभन्केको र प्रयोग गर्ने हतियार तथा मासुको सीधै सम्पर्कमा आउने सामग्रीहरु राम्रोसंग सफा गरेको यकिन गरी ताजा माछामासुमात्र खरीद गर्ने बानी बसाल्ने ।
होटल रेस्टुरेन्टमा खानेकुरा खांदा अपनाउनुपर्ने सावधानी
१. होटल छनौट गर्नुअधि बरिपरिको अवस्था यकिन गर्ने, धुलो धुवां र झिंगाको संक्रमण भएको स्थानको छनौट नगर्ने ।
२. खाना अर्डर गर्नुअघि एक पटक किचनको अवलोकन गर्ने, तहांको सरसफाईको अवस्था, प्रयोग गर्ने भांडाकुडाहरुको अवस्था, पकाउने ठाउंमा चरा किरा मुसाको संकमणको अवस्था र कामदारको अवस्था यकिन गर्ने बानी बसाल्ने ।
३. रंग तथा परिरक्षी हालेर पकाएको खानेकुरा नखाने । किचनमा रंगको बटा, अखाद्य हाइडोको बटा पाएमा त्यस्तो खानेकुरा उपभोग नगर्ने ।
४. नपकाइकन वा सांदेर खाइने खानेकुरा (जस्तै सलाद, सांदेको अचार, पेय पदार्थ आदि) बाट विशेष सावधानी अपनाउने, यस्तो खानेकुराहरुबाट फुड पोइजन हुने अत्यधिक संभावना रहन्छ ।
५. पिउने पानी र प्रयोग गर्ने सामग्रीहरु गुणस्तरीय छ छैन, म्याद गुज्रिसकेको छ छैन सोधी खोजी गर्ने ।
घरमा खाना तयारी गर्दा अपनाउनुपर्ने सावधानी
१. सरसफाई राख्ने । किचनमा चरा, किरा, मुसा जस्ता जिव छिर्न नसक्ने व्यवस्था गर्ने र खाना बनाउंदा प्रयोग गर्ने समाग्रीहरु सफा गर्ने । खाना तयार गर्दा भान्सा कोठाको राम्रोसंग सरसफाई गरी खाना पकाउनु अघि, खानु अघि र शौचालय पछि अनिवार्य रुपमा सावुन पानीले राम्ररी हात धुने बानी बसाल्ने ।
२. राम्ररी पकाउने । खाना पकाउंदा लाई राम्ररी (७० डिग्री सेन्टिग्रेड भन्दा माथि अर्थात राम्रोसंग बाफ आउने गरी) पकाउने
३. पकाएको र नपकाएकोलाई छुटाछुटै राख्ने । प्रयोग गर्ने भाडाकुडा र चपिंगबोर्ड तथा चक्कु समेत छुटाछुटै प्रयोग गर्ने ।
४. सुरक्षित तापक्रममा भण्डारण गर्ने । भण्डारण गर्नुपर्दा या त चिसो अवस्थामा फ्रिजमा (४ डिग्री सेन्टिग्रेड भन्दा तल) या त तातो अवस्थामै बाफ आउने गरी (६० डिग्री सेन्टिग्रेड भन्दा माथि) राख्ने । पाकेको खाना २ घण्टा भित्रमा खाइसक्ने ।
५. स्वच्छ पानी र गुणस्तरीय कच्चा पदार्थ प्रयोग गर्ने ।
गर्मी याममा अपनाउनुपर्ने बिशेष साबधानी
बिशेषगरी गर्मी याममा फूड पोइजन हुने बढी सम्भावना रहेको र समयमै उपचार पाउन नसके मृत्यु समेत हुन सक्ने भएकोले स्वच्छताका हिसाबले बढी जोखिमयुक्त खाद्य पदार्थ आइसक्रिम, जुस, चिसो पेय पदार्थ, लस्सी, दही, मही, पानीपुरी, चटनी, सस, सादेको अचार, सलाद जस्ता खाद्य तथा पेय पदार्थ खरीद तथा उपभोग गर्दा तपसील बमोजिमको बुदाहरुमा बिशेष ध्यान दिने ÷
१. खुलाठाउंमा सडक पेटीमा तयार गरी विक्रीवितरण हुने खाद्य तथा पेय पदार्थहरुमा धुलो र धुवाको संक्रमण भइराखेको तथा वरिपरिको परिसर फोहोर भई झिंगाको संक्रमण भइराखेको देखेमा त्यस्तो खाद्य पदार्थ उपभोग नगर्ने ।
२. गर्मी याम भएकोले चिसो खाद्य तथा पेय पदार्थको माग बढेको हुन्छ, आइसक्रिम, कुल्फी, दही, लस्सी, मही, हल्का पेय पदार्थहरु, प्रशोधित पानी आदिको खपत एमदमै बढेको हुन्छ, यस्ता पदार्थहरु चिसोमानै खाइने हुनाले फुड पोइजनको अत्यधिक जोखिम हुने गर्दछ । सिलवन्दी यस्ता पदार्थहरु खरीद गर्दा लेवल अनिवार्य हेरी उपभोग्य अवधि यकीन गर्ने, उत्पादक पहिचान गर्ने र खाद्य अनुज्ञापत्र नम्वर उल्लेख गरिएको मात्र उपभोग गर्ने गरौ ।
३. सलाद, सांदेको अचार जस्ता खाद्य पदार्थहरु तयार गर्दा कच्चा पदार्थहरु सफा पानीले राम्रोसंग धुने, काट्ने चपिंग बोर्ड चक्कु लगायत प्रयोग गर्ने भांडाकुडाहरु र काम गर्ने कामदारको हात राम्रोसंग सावुन पानीले धोएर मात्र काम गर्नुका साथै यस्ता परिकारहरु तयार गरेको २ घण्टा भित्र उपभोग गरिसक्ने ।
४. मसलाजन्य पदार्थहरु प्रयोग गर्दा धुलो मसलाको पाकेट खरीद गर्नुको साटो आंखाले हेरेर किरा तथा ढुसी नपरेका सग्लो स्वरुपका मसलाहरु खरीद गरेर घरमै ल्याएर आफ्नै आखाअघि पिसेर प्रयोग गर्नु राम्रो मानिन्छ । यसो गर्दा किराले खाएका ढुसी परेका बिषाक्त मसलाको जोखिमबाट बच्न सकिन्छ । अन्य खाद्य पदार्थहरु समेत आंखाले स्पस्ट देखिने गरी सडेगलेको, किरा परेको, ढुसी परेको पाइएमा खरीद नगर्ने।
५. होटलमा खाना खान जांदा एकपटक किचन अनिवार्य हेरेर मात्र खाद्य पदार्थ अर्डर गर्ने बानी बसालौ । किचनमा सरसफाइको कमी भई झिंगा तथा अन्य किराहरुको संक्रमण भइराखेको पाइएमा, टोइलेट संगै किचन भएको पाइएमा, किचनमा प्रयोग गर्ने कच्चा पदार्थहरु सडेगलेको वा उपभोग्य अवधि सकिएको पाइएमा, अत्यधिक रंग हालेर पकाइएका खाद्य पदार्थहरु पाइएमा वा अखाद्य रंग र अन्य केमिकल राखिएको पाइएमा त्यस्तो होटलको खानेकुरा उपभोग नगर्ने ।
उजुरी तथा गुनासो गर्ने ठेगाना
खाध स्वच्छता र गुणस्तरमा कैफियत देखिएमा तत्काल स्थानिय निकायमा वा सुरक्षा निकायमा वा तपसिलका खाद्य प्रविधि तथा गुण र्नियन्त्रण निकायहरुमा उजुरी गर्नुहुन सम्पूर्ण उपभोक्ताहरुमा अपील गरिन्छ।
तपसील
१. खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, धनगढ़ी, फोन ०९१५२२९७२, मोबाइल ९८५८४८८९७२, इमेल [email protected].
२. खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डडेलधुरा, मोबाइल ९८५८७७५००४, इमेल [email protected].
३. खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, डोटी, मोबाइल ९८५८४८८४६५, इमेल [email protected].
४. खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बैतडी, मोबाइल ९८५८७८२२४४, इमेल [email protected].