बझाङ। बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको प्रहरीले जनाएको छ।
देउलेखबाट सुनकुडा तर्फ गइरहेका देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले घाइते भएका महरको उपचारको लागि डडेल्धुरा लिँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए। एम्बुलेन्स चालक हर्क बहादुर ढाटलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले स्थानीयहरुले जयपृथ्बी राजमार्ग बन्द गरेका छन्। मोटरसाइकल चालक र एम्बुलेन्स चालक बित्थडचिर गाउपालिकाका रहेका छन्।