बझाङ। बझाङमा यार्सा टिप्न गएका थप एक जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। यार्सागुम्बा संकलन गर्न बझाङको हिमाली क्षेत्रमा गएका सुर्मा गाउँपालिका वडा ४ का ४५ वर्षीय प्रमु बोहराको मंगलबार यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै मृत्यु भएको हो।
बोहरा यार्सागुम्बा संकलन गर्न चुफी वनतिर गएका थिए। चुफी वनबाट मंगलबार हिमपात भइरहँदा घर फर्किंदै गर्दा तितापानी भन्ने स्थानमा चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको स्थानीयले बताएका छन्।उनको मृत्यु भएको खबर प्राप्त भएको र यस विषयमा थप अनुसन्धार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यसअघि सोमबार मात्रै सुर्मा गाउँपालिकाकै वडा नं ५ सैन गाउँका ३३ वर्षीय कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको थियो। मंगलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवि बोहरा मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएकी छन्।