धनगढी। बझाङको छविस पाथिभेराको एम्बुलेन्स धनगढीमा अलपत्र छोडिएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बझाङको छविस पाथिभरा गाउँपालिकालाई प्रदान गरेको एम्बुलेन्स धनगढीमा अलपत्र छोडिएको छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिककमा प्रदेशका ९ जिल्लाका १६ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको थियो। भन्सार छुट बाहेक ६ करोड २५ लाख १२ हजारमा खरिद गरिएका एम्बुलेन्स त्यति बेला पनि विवादित भएका थिए। आधुनिक र सुबिधा सम्पन्न भनिएका एम्बुलेन्स पहाडी जिल्लामा चलाउन समस्या भएको गुनासो स्वास्थ्य संस्था र पालिकाले गर्दै आएका थिए।
छविस पाथिभेराको मटेला स्वास्थ्य चौकीलाई दिइएको एम्बुलेन्स चलाउन समस्या भएकाले सामाजिक विकास मन्त्रालयमा फिर्ता गर्न ल्याइएको मटेला स्वास्थ्य चौकीका इन्चार्ज भरत मोरले बताए। धनगढीको चकमेली र शिवनगरको सिमानामा निर्माणाधीन साँघुरो सडकमा एम्बुलेन्स खडा गरिएको छ। एम्बुलेन्सको कारण आवागमनमा समस्या भएको धनगढी मोहन बिष्टले गुनासो गरेका छन्। एम्बुलेन्स मन्त्रालयमा फिर्ता गर्न आएको भनिए पनि बिहानैदेखि सडकमा खडा गरिएको छ।


