काठमाडौं। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सुदूरपश्चिमका एकसहित ३ जना जेल चलान भएका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए।
बझाङका १८ वर्षका विप्लव खड्का, सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत र बागलुङका ३० वर्षका सोम शर्मा लाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएको पुष्टि गरे।
७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डबिरुद्ध नाराबाजी गर्दै बिरोध जनाएका थिए।
प्रधानमन्त्री दाहाल कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए। दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रमस्थलमा प्रधानमन्त्री प्रचण्ड पुगेका थिए । ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो।