बझाङ। बझाङ सदरमुकाम चैनपुर रिङरोड सडक हिलाम्मे भएको छ। चैनपुरस्थीत रिङरोड सडक हिलाम्मे हुँदा बिद्यार्थी, यात्रु तथा सवारीसाधनमा जावतजावतमा समस्या भएको स्थानियले बताएका छन् । सो रिङरोड सडकमा वर्षको बाह्रै महिना हिलो र खाल्डाखुल्डीका कारण स्थानियले सास्ती बेहोर्नुपरेको छ।
स्थानिय जनप्रतिनिधी तथा मेयर सोही बाटो भएर घर जाने गरेका छन्। स्थानियले फराकिलो र चिल्लो पिच भएको सडकको अपेक्षा राखेपनी अहिलेसम्म मर्मत गरिएको छैन् । नेपाली कांग्रेसका नेता तथा बझाङ जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल मेयर भइसकेपछि घर जान-आउन त्यही बाटो प्रयोग गर्दै आएका छन्। यस्तै जयपृथ्वी नगरपालिका-१० का वडा अध्यक्ष पुष्प सिंह पनि त्यही बाटो बिहान सांझ हिड्डुल गरिराख्छन्।
तर बाटोको दुर्दशा हेर्दा त्यो सडक कुनै विकासमा सबैभन्दा पछि परेको बस्ती जाने जस्तो छ । वर्षको बाह्रै महिना हिलो हुने त्यो सडकमा खाल्डाखुल्डी परिरहेको स्थानीय बाजिलाल शाहीले बताए। उनले जहिले पनि पानी र हिलोले गर्दा त्यो सडकमा हिँड्ने नागरिकले पाउनुसम्म दुःख पाउने गरेको बताए। उनले आफु कैयौं पटक हिलोमा परेको बताउँदै बजार, कार्यालय जान भनेर हिँंडेका मानिस, स्कुल जान हिंडेका विद्यार्थीका खुट्टाभरि हिलो भैरहने बताए । गाडी, मोटरसाइकल आउँदा उनीहरूको जिउभरि हिलो छ्यापिने गरेको उनको भनाई छ। वर्षौंदेखि दुःख खेप्दै आएको भए पनि जयपृथ्वी नगरपालिकाले सडक बनाउन चाँसो नदिएको स्थानियको भनाई छ । चैनपुर रिङरोड सडकको यस्तो हालतले नगरपालिकालाई गिज्याइरहेको स्थानियबासीको आरोप रहेको छ ।