धनगढी। सुदुरपश्चिम प्रदेश सभाका साँसद यतीबेला काठमाण्डौँमा छन्। देशको राष्ट्रपती तथा उपराष्ट्रपतीको निर्वाचनका लागी मतदान गर्न पुगेका प्रदेश सभाका साँसदहरु निर्वाचनपछि त्यही बसेर शिर्ष नेतासँग लबिङ गरिरहेका छन्।



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सरकार विस्तारको तयारीमा रहेका छन् भने अन्य साँसद शिर्ष नेतासँग मन्त्री बन्न लबिङ गरिरहेका हुन् । हुनत शाहले आफु मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना बढी समय बितिसक्दा पनि सरकार विस्तार गर्न सकेका छैनन्। माघ २६ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २७ गते मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकास मन्त्रीमा काङ्ग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाही नियुक्त गरेका थिए।
त्यसयता उनले मन्त्रीपरिषद बिस्तार गर्न सकेका छैनन्। केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेशमा नयाँ गठबन्धनमा आबद्ध दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यले बिश्वासको मत मुख्यमन्त्री शाहलाई दिएका हुन्। विश्वासको मत लिए लगत्तै सरकार विस्तारको तयारी भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सरकार विस्तारमा बाधक थियो। २५ फागुनमा भएको राष्ट्रपति निर्वाचन र चैत्र ३ गते भएको उपराष्ट्रपतिको निर्वाचनका लागि काठमाडौं गएका अधिकांश प्रदेश सभा सदस्य फर्केका छैनन् ।
बिश्वासको मतपछि मन्त्रालय भागबण्डा तथा पावर सेयरिङ्गको कुरा शिर्ष नेताबाट हुने बताएका मुख्यमन्त्री शाहले काठमाडौंमै गठबन्धनका शीर्ष तहमा मन्त्रालय भागबन्डाको विषय टुंग्याउने तयारी गरिने बताएका थिए । यसबारे औपचारिक छलफल भने सुरु भएको स्रोतको भनाई छ। अहिले आचारसंहिता सकिएसँगै सरकार विस्तारको गृह कार्य पुनःसुरु भएपछि मुख्यमन्त्री शाह र अन्य प्रदेश सांसद शिर्ष नेतासँग लबिङ गरिरहेका छन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी भित्रैका प्रदेश सांसदहरु मन्त्री बन्न तीव्र लबिङ गरिरहेका हुन् । नेपाली कांग्रेसबाट प्रकाश बहादुर बम, पदम बहादुर शाही,डम्मरी महरा, दिवान सिंह विष्ट,बहादुर सिंह थापा,बिक्रम सिंह धामी,मान बहादुर रावल,मेघ राज खड्का,ललिता सुनार,शिव राज भट्ट,सरस्वती खड्का छन्।
यस्तै नेकपा माओवादी केन्द्रबाट अक्कल बहादुर रावल,ओम विक्रम भाट,खग राज भट्ट,गीता देवी माल, झपट बहादुर साउँद,जानकी देवी कुँवर,मानबहादुर धामी,रमेश सिंह धामी,लक्ष्मी विक,शिव सिंह ओली छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीबाट इन्दीरा गिरी,कैलाश चौधरी,राम डगौरा थारु,घनश्याम चौधरी,रामेश्वर चौधरी,लक्ष्मण किशोर चौधरी,टिका थापा छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट दीर्घ बहादुर सोडारी,प्रकाश रावल,माया पन्त रहेका छन् । उनीहरुले शिर्षनेतासँग छलफल तथा भेटघाटलाई तिब्र बनाएका छन्। प्रदेशमा मुख्यमन्त्रीसहित सातसदस्यीय मन्त्रिपरिषद् रहेको छ। चार मन्त्रालय रिक्त छन् ।

माओवादीले तीन मन्त्रालयमा दाबी गरेको छ । दुई मन्त्रालयमा दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी छ। माओवादी प्रदेश कमिटी उपाध्यक्षसमेत रहेका प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले सरकार विस्तारबारे औपचारिक छलफल हुने उनले जानकारी दिए । उनले मन्त्रालय भागबन्डा कसरी मिलाउने भन्नेबारे गठबन्धनको शीर्ष तहमै समझदारी हुने र अनौपचारिक कुराकानी भइरहको बताए । प्रदेश सभाको दोस्रो ठूलो दल भएकाले माओवादीले तीनवटा मन्त्रालयमा दाबी गर्नु स्वाभाविक भएको उनले बताए । रावलले आफू पनि मन्त्रीका दाबेदार गरेको उनले बताए। ५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र १ जना स्वतन्त्र सांसद छन्।



