काठमाडौँ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढाएको छ। संस्थानले चैत १ गतेदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ । सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डीडीसीले जनाएको छ ।
निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ। यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ। त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको दुग्ध विकास संस्थानले जनाएको छ। सरकारले यसअघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चत्रतदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए। संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीले बजारमा बिक्री गर्ने चार प्रकारका प्याकेटको दूधको मूल्य निर्धारण भने संस्थानको बोर्ड बैठक सकिएपछि थाहा हुने बताए।
हाल संस्थानले स्ट्याण्डर्ड दूध प्रति ५ सय एमएल ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ। यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ रहेको छ । गत फागुन १९ मा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो। ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्याएको थियो । त्यसको एक सातापछि फागुन २५ मा निजी क्षेत्रका डेरीले १४ रुपैयाँ र दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो।


