डडेल्धुरा। डडेल्धुरामा बाघको हड्डीसहित दुई जना पक्राउ परेका छन्। शनिबारराति अमरगढी नगरपालिका–५ बागबजारबाट पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी) को संयुक्त टोलीले बाजुराको बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैशी र खप्तडछेडेदह गाउँपालिका–७ का २७ वर्षीय वीरबहादुर ओलीलाई पक्राउ गरेको हो। संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपोसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विषेश सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले उनीहरुको साथबाट चारवटा दाँतहरू देखिएको एक थान हड्डी, तल्लो बाङग्राको जस्तो देखिने हड्डी दुई थान, मेरुदण्डको जस्तो देखिने हड्डी २९ थान, करङको जस्तो हड्डी २२ थान, फीलपातको जस्तो देखिने हड्डी ५ थान, नलि हड्डी जस्तो देखिने हड्डी १० थान, विभिन्न प्रकारका स–साना हड्डी २७ गरी जम्मा ९६ थान हड्डी बरामद गरिएको जानकारी दिए । जम्मा ४ दशमलव ५ किलोग्राम रहेको छ। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कसुरको गंभिरता हेरी ६ महिना देखी १५ बर्षृसम्म कैद र बिस हजार देखी दश लाखसम्म जरीवाना उल्लेख गरिएको छ। थप अनुसन्धानका लागि बरामद गरिएको हड्डी डिभिजन वन कार्यालय डडेल्धुरालाई बुझाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।