बझाङ। सुदूरपश्चिमको विकासको मूल ढोकाका रुपमा परिचित बझाङको चैनपुर ताक्लाकोट सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन् । सडक कटानको कार्य सुस्त गति हुँदा सडक निर्माणको कामले तीव्रता पाउन नसकेको हो।
२०६२ सालमा निमार्ण कार्य सुरु भएको यस आयोजनामा १७ वर्षमा ३९ किलोमिटर ट्रयाक खोल्ने काम मात्र भएको छ। १ सय १७ किलोमिटर दुरीको यो सडकमा काम सुस्त हुँदा स्थानीयवासी आक्रोशित भएका छन् । यस सडकको चैनपुर रुवातोला खण्डको १८ किलोमिटर विकेन्दीकृत पुर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (ड्रिलिप) ले २०६८ सालमै निमार्ण सम्पन्न गरेको थियो। सडकखण्डको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिन साइपाल गाउँपालिकाका स्थानियले संघीय सरकारसँग माग गरेका छन्।
निर्माण व्यवसायीबाट काम गर्दा ढिलो हुने गरेको भन्दै सेनाको जिम्मा दिन साइपालका जनप्रतिनिधिले माग गरेका हुन्। दक्षिणको भारत र सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस सडकखण्डलाई बझाङका साथै प्रदेशकै विकासको मेरुदण्डका रुपमा लिइएको भए पनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको नसकेको हो ।कठिन चट्टानी भिरपाखा फुटाउन मेसिनरी साधन भरिपूर्ण भएको नेपाली सेनालाई ताक्लाकोट सडकखण्ड निर्माण गर्ने जिम्मा दिनुपर्ने गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बताए।
सेनाले छोटो समयमै त्यस क्षेत्रको काम सम्पन्न गर्नसक्ने आकलन भएको जनप्रतिनिधिको निष्कर्ष रहेको अध्यक्ष बोहोराको भनाइ छ। निर्माण व्यवसायीको जिम्मा दिँदा यही गतिमा हुने हो भने यो काम गर्न अझै १० वर्ष लाग्नसक्ने उनको भनाइ छ। निर्माण व्यवसायी र सेनाको काममा निकै भिन्नता रहेको जनप्रतिनिधिको ठम्याइँ छ।संघीय सरकारले प्रत्येक वर्ष बजेट छुट्याएर सुस्त गतिमा काम भयो भन्नुभन्दा तत्काल नेपाली सेनाको जिम्मा लगाउनु उचित रहेको अध्यक्ष बोहराले बताए। बुधबार मात्रै प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त सडकखण्डको अनुगमन गरेका छन्। यसवर्ष सडक निर्माणको कामले गति नलिएकोसमेत जोशीले बताए।
कामलाई छिटोछरितो अगाडि बढाउन निर्माण कम्पनीलाई पनि निर्देशन दिइएको उनको भनाइ छ। गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले केही दिन अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले भेटका क्रममा ताक्लाकोट सडकखण्डको काम गर्ने जिम्मा सेनालाई दिनुपर्ने माग गरेको बताए।सदरमुकाम चैनपुरबाट उत्तरीखण्डमा निर्माण भइरहेको यो सडक छिटो निर्माण गर्न यस क्षेत्रका बासिन्दाको चाहना भए पनि सडक निर्माणको ठेक्का लिएका निर्माण कम्पनीको लापरबाहीका कारण काम ढिला भएको स्थानीयले बताएका छन्।
चैनपुर –ताक्लाकोट सडक योजनाका प्रमुख तुलाराम शर्माले २०७२ सालमा टेन्डर सुरु गरेर चैनपुर देखि ताक्लाकोट सम्म १८ किलोमिटरको टेन्डर लुम्बिनि राजेन्द्र जेविले पाएको र काम सम्पन्न भएको जानकारी दिए । तर, उक्त जेभिले काम सुस्त गतीमा गरेको स्वीकार गर्दैे, भौगोलिक विकटता, कडा चट्टान, बेला बेलामा हिमपात हुने भएका कारण सडक कटानको कार्य लामो समय रोक्नुपर्ने बाध्यता र बीचमा कोभिड १९ का कारण पनि सडक कटानको प्रगति नभएको र कम्पनीको लापर्वाहीका कारण पनि कामको प्रगति हुन नसकेको उनले बताए । नाका खोल्न सके सदुरपश्चिम प्रदेशको समृद्धिमा बरदान सावित हुने जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालको भनाई छ । निर्माण स्थलमा सबै काम अलपत्र अवस्थामा छ भने निर्माण सामाग्री मेसिनलगायतका सामान खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । रूपातोलादेखि साइपालको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको नागार्जुन जेभी कम्पनीको काम झन सुस्त देखिएको छ। रुपातोलाबाट धुलीसम्म नागार्जुन निर्माण सेवाले विसं २०७४ मङ्सिरमा काम सुरु गरेको थियो।