सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बुधबार नेकपा एमालेका प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
विद्यार्थी छँदादेखि राजनीतिक यात्रा थालेका रावल राजनीतिककर्मीसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आएका रावलको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा बुबा दानसिंह र आमा कलादेवीको सन्तानका रूपमा २०२१ जेठ १६ गते भएको हो । मुख्यमन्त्री रावलले आधारभूत तहकोे शिक्षा भारत मेघालयको सिलङ, मध्यप्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढबाट हासिल गरेका हुन्। बुवा दानबहादुर भारतीय सेनामा जागिरे थिए।
बैतडीको शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेका मुख्यमन्त्री रावलले प्रमाणपत्र तहको शिक्षा भारतको पिलिभितबाट तथा स्नातक तहको शिक्षा कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरेका हुन्। उनी नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारुलगायत भाषामा पोख्त छन्। विसं २०३६ मा जनमत संग्रहका लागि भएको आन्दोलनबाट रावलको राजनीतिक यात्राको थालनी भएको हो ।मुख्यमन्त्री रावलले बैतडीमा आफूले पढेको विद्यालयमा अध्यापन गरेका थिए। विसं २०४२ मा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आवद्ध भइ आन्दोलनको नेतृत्व गर्ने क्रममा पक्राउ परेका थिए। विसं २०४५ मा माक्र्सवादी अध्ययन दलको सदस्यका रुपमा समेत उनले काम गरेका थिए। विसं २०४६ को जनआन्दोलनमा रावल प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा (माले) को प्रथम जिल्ला संगठन कमिटीमा आवद्ध भएर काम गर्नुका साथै २०४७ सालमा अनेरास्ववियुको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए।
विसं २०४८ मा मुख्यमन्त्री रावल अनेरास्ववियु पाँचौँ राष्ट्रिय परिषद् सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज भएका थिए। विसं २०५१ मा नेकपा एमाले को जिल्ला संगठन विभाग प्रमुख, २०५४ सालदेखि २०५९ सम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति, २०५४ सालमा नेकपा एमाले को जिल्ला उपसचिव तथा २०५७ सालदेखि २०६२ सालसम्म एमाले कञ्चनपुरको सचिव (दुई कार्यकाल) का रुपमा काम गरेको अनुभव छ मुख्यमन्त्री रावलसित।विसं २०६२/२०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका रावललाई राजकाज मुद्दाअन्तर्गत पक्राउ गरिएको थियो। उनी २०६२ मा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव, २०७५ देखि २०७७ सम्म एमाले केन्द्रीय कमिटी सदस्य तथा २०७८ सालमा एमाले केन्द्रीय र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इञ्चार्ज भएर मुख्यमन्त्री रावलले काम गरेका थिए। उनी हाल एमाले पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम सहइञ्चार्जका रुपमा रहेका छन् ।
मुख्यमन्त्री रावल २०७९ सालमा एमालेको समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचितहुनु भएको हो।रावल एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीमा चयन भएका हुन्। उनी राजनीतिसँगै लेखन क्षेत्रमा समेत दख्खल राख्छन्। उनले तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास लेखेका छन्। रावलका कविता संग्रह पनि प्रकाशित छन्। यसबाहेक मुख्यमन्त्री रावलका विभिन्न विषयका कार्यपत्र, सोधपत्र र लेखरचना पनि प्रकाशित छन् । उनले चुरे संरक्षण आवाज बुलेटीनको सम्पादकका रुपमा समेत काम गरेका छन्।मुख्यमन्त्री रावल सुदूरपश्चिम विश्वविद्यालयको संस्थापक सदस्य, महाकाली अञ्चल अस्पताल सञ्चालक समितिको अध्यक्ष, सिद्धनाथ बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस र शारदा विद्यापीठको सञ्चालक समितिको सदस्यका रुपमा समेत काम गरिसेका छन्। उनी महाकाली साहित्य समाजको वरिष्ठ उपाध्यक्षसमेत रहेका छन् ।
यस्तै अन्य प्रदेशमा पनी सरकार गठन भएका छन्। बुधबार मधेस, लुम्बिनी, कर्णालीमा मुख्यमन्त्री नियुक्त भएसँगै सातवटै प्रदेशमा सरकार गठन भएका छन्। मधेसमा सरोजकुमार यादव नियुक्त भएका छन्। यस्तै लुम्बिनीमा लीला गिरी,कर्णालीमा राजकुमार शर्मा, सुदूरपश्चिममा राजेन्द्रसिंह रावल नियुक्त भएका हुन्। यस्तै बागमतीमा शालिकराम जम्कट्टेल, प्रदेश १ मा हिक्मतकुमार कार्की र गण्डकीमा खगराज अधिकारी नियुक्त भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा को हुन् ? – कर्णाली प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा रुकुमपश्चिम प्रदेशसभा (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। विसं २०२८ भदौ २८ गते चौरजहारी नगरपालिका– १४ साक्चा, नुवाकोट (साविक नुवाकोट गाविस) मा जन्मेका उनले नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वका विभिन्न मोर्चामा रहेर काम गरे।
विसं २०४१ मा स्कुल पढ्दै गर्दा अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट उनको राजनीति यात्रा सुरु भयो। सानो छँदा निर्दल र बहुदलका बारेमा चासो राख्दै २०४१ सालमै उनकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी भएर तत्कालीन राजतन्त्रको विरोध र जनयुद्धको तयारीका क्रममा २०५०–०५१ सालमा रुकुम रोल्पामा सञ्चालित ग्रामीण वर्ग सङ्घर्षको थालनीकर्ताका रूपमा सशस्त्र द्वन्द्वमा पूर्णकालीन कार्यकर्ता बने।विसं २०४३ मा सदरमुकाम मुसीकोट पुगेर विद्यार्थीको एकाइ कमिटी सदस्य हुँदै विसं २०४६ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महामन्त्री रहेको नेकपा (मसाल) को साङ्गठनिक सदस्यता लिई २०४७ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा राजनीतिमा होमिएका थिए।
त्यस्तै २०४८ मै सर्वहारावादी श्रमिक सङ्गठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसालसहित नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र भएसँगै पछि बाहिर जनमोर्चाका नाममा वैधानिक राजनीतिक गतिविधिमा उनी संलग्न भएका थिए।त्यो बेलामा शर्माको अगुवाइमा सशस्त्र द्वन्द्वको आवश्यकताबारेमा जनजागरण, सशस्त्र द्वन्द्वको तयारी, जनसेवा तथा जनपरिचालनमार्फत विकास निर्माण र स्थानीय जाली फटाहा विरोधी जनसङ्घर्षका थुप्रै कामहरु भएका थिए।विसं २०५० मा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम गरेर ‘जनयुद्ध’ का लागि फौजी आधार तयार गर्न शर्माले महत्त्वपूर्ण भूमिका खेले। सशस्त्र युद्धको आधार तयार गर्न रुकुममा सञ्चालित ग्रामीण सङ्घर्षका क्रममा भएका स्थानीय थुप्रै जनसङ्घर्षका कामको नेतृत्व लिँदै सशस्त्र द्वन्द्वपूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले २०५२ फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जाको नेतृत्व गरेका थिए। प्रचण्ड नेतृत्वमा सशस्त्र द्वन्द्व सुरु भएपछि उनको भूमिगत राजनीति सुरु भएको थियो।
विसं २०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी शर्माका लागि उक्त लडाइँ विशेष स्मरणीय रहेको छ। एउटा एसल्ट टोली (आक्रमणमा सहभागी मुख्य लडाकु टिम) को कमाण्ड गरी उक्त लडाइँमा सहभागी शर्माका लागि मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेका कारण पनी विशेष स्मरणीय रहेको थियो।विसं २०५४ मा साविक कर्णालीका जिल्लामा विभिन्न सैन्य कमाण्डको नेतृत्व सम्हालेका शर्मा २०५८ पछि मुगु, डोल्पा र विसं २०६१ को शान्ति प्रक्रियापछि पनि दैलेखमा रहेर काम गरे जतिबेला दैलेखमा माओवादीविरुद्ध प्रतिकार अभियान चलाइएको थियो। सो बखतमा उहाँले जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इञ्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेलेका थिए।
तत्कालीन विद्रोही र राज्य पक्षबीच विस्तृत शान्ति प्रक्रियामा हस्ताक्षर हुँदा शर्मा थरुहट राज्य दाङ, बाँके, बर्दिया र कैलाली, कञ्चनपुरको प्रमुख थिए। विसं २०६७ पछि नेवाः राज्यमा रहेर काम गरेका उनी केन्द्रीय प्रचार विभाग, विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख, पार्टीको जिल्ला कमिटी इञ्चार्ज, २०७८ मा प्रदेश कमिटी अध्यक्ष हुँदै कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका छन्।कक्षा १० सम्मको औपचारिक शिक्षा पूरा गरेका मुख्यमन्त्री शर्मा पार्टीमा आर्ट नामले परिचित छन्। हाल उनी नेकपा (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्यका रूपमा काम गर्दै आएका छन्।आफूले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमिका थुप्रै सहकर्मीहरूले राज्य सञ्चालनका क्रममा सुविधाका पदधारण गर्दै गर्दा उनले संसदीय राजनीतिको यात्रामा पहिलो पटक प्रवेश गरेका हुन्। राज्यसत्ता परिवर्तनका लागि सशस्त्र द्वन्द्वका क्रममा सिङ्गै कर्णालीलाई पैदल हिँडेर पूरा गरेका शर्माले कर्णालीका जनताका मुहारमा खुसी र सम्पन्नता ल्याउने सङ्कल्प गरेका छन्।संयोगवस सङ्घीयताको इतिहासमा कर्णाली प्रदेश सरकारको पहिलो र दोस्रो कार्यकालको नेतृत्व नेकपा (माओवादी केन्द्र)ले नै गरेको छ। पहिलो कार्यकालमा प्रदेशसभामा नेकपा (एमाले) पहिलो दल बने पनि सत्तागठबन्धनको भागबण्डामा कर्णाली सरकारको नेतृत्व पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका थिए।राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै विसं २०७४ को प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक स्थान मात्र जितेको नेपाली कांग्रेसबाट जीवनबहादुर शाहीले १४ महिना १० दिन प्रदेश सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए।
लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका लीला गिरी को हुन्?- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भए। नयाँ राजनीतिक समीकरणका आधारमा माओवादीलगायतका अन्य दलको समर्थनमा एमाले पोलिटब्युरो सदस्य ६८ वर्षीय गिरीले लुम्बिनी सरकारको नेतृत्वको अवसर पाएका छन्।
यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भइसकेका गिरीलाई शालिन नेतृत्वको रूपमा चिन्ने गरिन्छ। मंसिर ४ गते सम्पन्न चुनावमा रुपन्देही क्षेत्र २(क) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेशसभामा विजयी भए।अघिल्लो निर्वाचनमा पनि उनी यसै क्षेत्रबाट विजयी भएका थिए।गिरीको जन्म २०११ साल चैत १४ गते रुरु गाउँपालिका– ५ गुल्मीमा भएको थियो। बिएसम्म अध्ययन गरेका गिरीको विशेष दख्खल कृषिमा विविधीकरण, पशुपालन, वन विज्ञान र समाजशास्त्रमा छ। उनी राजकीय जिम्मेवारीमा लुम्बिनी प्रदेशसभा सदस्य, प्रदेश सरकारमा मन्त्री बने।
उनले उद्योग वन, पर्यटन, वातावरणमन्त्रीको नेतृत्व गरे भने केही समय आन्तरिक मामिला तथा कानुनमन्त्री, स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी निभाएका थिए।उनको राजनीतिक जीवन पञ्चायतका विरुद्ध आवाज उठाउँदै अघि बढ्यो। २०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालीन पञ्चहरूको विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरूसँगै आन्दोलनमा सहभागी भएका थिए।गिरीले शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यववस्थाको पहिलो जननिर्वाचित अध्यक्ष भएर काम गरेका थिए। सहीद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दलमा सहभागी भए।सोह्र–छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरे।शाही कूका विरुद्ध लाग्दा गिरीले जेलयातना समेत भोगे। २०६१ माघ २७ देखि ०६२ वैशाख २८ गतेसम्म जिल्ला कारागारमा जेल यातना भोगेका हुन्।
गिरीले २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव, वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव, ०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष भएर काम गरे।वि.सं.२०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए। नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष, हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज छन्।
को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री अधिकारी ?- गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रादेशिक संरचनाअनुसार दोस्रो प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित बनेका अधिकारीलाई संविधानको धारा, १६८(२) अनुसार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बुबा शेषरमण उपाध्याय र आमा लीलादेवीका सन्तानका रुपमा कास्कीको बेगनासमा २०१८ साल चैत १३ गते जन्मेका अधिकारी बाल्यावस्थादेखि नै राजनीतिक संस्कारयुक्त परिवेशमा हुर्किएका थिए । स्कुले जीवनदेखि नै राजनीतिक चेतना बढाउँदै भएका उनले ११ वर्षकै उमेरमा आनन्दज्योति माविमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिको जिम्मेवारी पाएका थिए । उनी २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्यका रुपमा अघि बढे ।विसं २०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को कास्की जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेका अधिकारी उच्च शिक्षा अध्ययनका लागि सुरुमा काठमाडौँ पुगेकामा पुनः कास्कीमा नै फर्किएर पोखराको पृथ्वी नारायण क्याम्पस (पिएन क्याम्पस)मा विज्ञान अध्ययनका लागि भर्ना भएका थिए । २०३७ सालमा पिएन क्याम्पसमा स्ववियु सदस्य भएका अधिकारी २०३८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भए ।
त्यसको दुई वर्षपछि अनेरास्ववियुको उपाध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका उनले २०४० सालमा पहिलो पटक पिएन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित बने । दोस्रो पटक २०४१ सालमा फेरि क्याम्पसको स्ववियु सभापति बनेका थिए । तत्कालीन समयमा खुलेर बहुदलको पक्षमा लागेकाले तत्कालीन प्रशासनको तारो बनेका उनी २०३६ सालदेखि नै अर्धभूमिगत रही पार्टी र सङ्गठनका काममा क्रियाशील बने । २०४२ सालमा स्ववियु सभापति हुँदाहुँदै प्रशासनबाट पक्राउ परेका अधिकारीले २०४६ सालसम्म देशका विभिन्न स्थानमा जेलजीवन बिताएका थिए ।
कास्की, रौतहट, दमौलीलगायत जिल्लाका जेलमा पठाइएका उनी २०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय सदस्य बने । २०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका उनले २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बने । विसं २०५४ मा उनले दलको सचेतकको जिम्मेवारी पाएका थिए । २०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारी गणतन्त्र स्थापनापश्चात् सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
उनले २०७० साल चैत १३ देखि २०७२ साल असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी लिएका थिए । २०६५ सालमा भएको एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनलाई पार्टीले गण्डकी इन्चार्ज, सङ्गठन विभागको सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारीसमेत दिएको थियो । २०७३ सालमा एमालेको केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी पाएका उनी २०७४ सालको आमनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ बाट विजयी बन्दै २०७८ साल जेठ २७ गते नेपाल सरकारको गृहमन्त्री नियुक्त भएका थिए ।विसं २०७८ मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी हाल एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बन्दै उनी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
यस्तो छ मधेसका मुख्यमन्त्री सरोज यादवको राजनीतिक यात्रा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पटकपटक कार्यकारी पदमा रही अनुभव बटुलिसकेका छन्। यसअघि मधेस प्रदेशको सभामुखको भूमिका निर्वाह गरिसकेका मुख्यमन्त्री यादव सङ्घीय सरकारमा दुईपटक राज्यमन्त्री बनिसकेका छन्।
विसं २०३० मा जन्मेका यादव सिम्रौनगढ नगरपालिका–३ नयका टोला निवासी हुन्। भारतीय सीमावर्ती क्षेत्र भारत विहारका नेतासँग उनको राम्रो सम्बन्ध छ। गाउँ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनको परिवारले जग्गा र नगद दान गरेकाले यस क्षेत्रमा उनको परिवारको योगदानको चर्चा हुने गर्दछ।धनाढ्य परिवार (जमिन्दार) का उनका स्व पिता परमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता थिए। मुख्यमन्त्री यादव सद्भावना पार्टीका महासचिव थिए। जसपा, लोसपा, सद्भावना लगायतका मधेस केन्द्रित दल एकीकरण भएर राजपा बन्दा उनी राजपाका राष्ट्रिय उपाध्यक्षसमेत भएका थिए। उनले प्रवीणता प्रमाणपत्र तह (आइएससी) सम्म अध्ययन गरेका छन्। माध्यमिक शिक्षा गाउँ नजिकै सिम्रौनगढस्थित कङ्काली माविबाट प्राप्त गरे।
चौबिस वर्षकै उमेरमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनले राजनीतिक यात्रा थालेका थिए। विसं २०५९ सम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाउन सफल भएका थिए।विसं २०६४ को पहिलो संविधानसभा सदस्यमा बारा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सद्भावना पार्टीबाट निर्वाचित हुँदै उनले संसदीय यात्रा सुरु गरेका थिए। तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार रामबाबु यादवलाई पराजित गरी यादव विजयी भएका थिए।त्यसबेला नेकपा माओवादीको सरकार थियो। पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा सद्भावना पार्टीबाट उनी पहिलो पटक सङ्घीय स्वास्थ्य राज्यमन्त्री र दोस्रोपटक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका थिए।विसं २०७० मा भने फेरि यसै क्षेत्रबाट दोस्रोपटक संविधानसभा सदस्यमा उम्मेदवार बन्दा कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। विसं २०७४ मा बारा निर्वाचन क्षेत्र १ को (२) बाट प्रदेशसभा सदस्यमा तत्कालीन राजपाबाट विजयी भई मधेस प्रदेशका सभामुख बनेका थिए।
मुख्यमन्त्री यादव एमाले र जसपाबीचको चुनावी तालमेलमा बारा निर्वाचन क्षेत्र नं १ को (२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर दोस्रो पटक निर्वाचित भएका थिए। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट राजनीति यात्रा सुरु गरेका यादवले पहिलो पटक तत्कालीन राजपाबाट चुनावी प्रतिस्पर्धा गरेका थिए भने यसपटक जसपामा प्रवेश गरी उम्मेदवारी दिएका थिए। दोस्रो पटकको चुनावमा उनको क्षेत्रमा गत मङ्सिरको चुनावमा वाम लोकतान्त्रिक गठबन्धन थिएन।यादवले चार हजारभन्दा बढी मतान्तरले निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्र साह पराजित गर्दै विजयी भएका थिए। यसरी पाँच वर्षसम्म सभामुखको अनुभव बटुलिसकेका यादवले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाका तर्फबाट उम्मेदवार भएर विजयी भई मुख्यमन्त्री भएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल को हुन्? – २०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज हुन् । बीए,बीएलसम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आवद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए ।
२०४८ औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष सम्म बने । माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे ।
२०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जमकट्टेल २०६३ सालमा अन्तरिम बिधायक र २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरेका थिए ।यद्यपि त्यसको पैचो पाण्डेले २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिएका थिए । २०७४ मा भने जम्कट्टेलले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभात किरण सुवेदीलाई पराजित गरे। उक्त निर्वाचनमा जमकट्टेले २३ हजार ३८२ मत ल्याई प्रदेश सांसदमा विजयी हुँदा उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रभात किरण सुवेदीले १० हजार ४०७ मत ल्याएका थिए । यो निर्वाचनमा जमकट्टेल सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा फेरी धादिङ १ को प्रदेश २ बाट विजयी भए। उनका एक छोरी र श्रीमती छन् ।जम्कट्टेलले फ्रान्स,ज्विजरल्यान्ड, पेरु, चाइना, जापान, कोरिया, थाइल्यान्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंका, इन्डोनेसिया र इन्डियाको भ्रमण गरेका छन् ।
को हुन् प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्की ?- २०२१ असोज ११ मा झापाको गौरादह नगरपालिका वडा नम्बर ३ मा जन्मिएका कार्कीले एसएलसी सम्मको अध्ययन गौरादहकै जनता माविमा गरेका थिए। कार्की विद्यालयमा अध्ययनरत रहँदै तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भए। यसैबिच २०३६ जेठ १० मा जनमत संग्रहको घोषणा गरियो।
यसपछि देशभरि पञ्चायतविरोधी राजनीतिक गतिविधि तीव्र बन्यो। कार्की यही बेला माले पार्टीको सम्पर्कमा आए।स्कुले जीवन सकेपछि उनी कानुनको अध्ययन गर्न धरानको महेन्द्र बहुमुखी क्याम्पस २०४२ सालमा पुगे। त्यहाँ उनले आइएलको पहिलो ब्याजसम्म मात्र अध्ययन गरे। त्यसपछि काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल ल कलेज भर्ना हुन गए। कार्कीले कानुनमा स्नातकोत्तर तह (एल एल एम)–सम्मको अध्ययन पूरा गरेका छन्।
उनी २०५५ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएका थिए। यसअघि क्याम्पसमा प्रारम्भिक कमिटी, काठमाडौँ जिल्ला कमिटी, वाग्मती अञ्चल कमिटी, विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य र मेची अन्चल समन्वय कमिटीको सदस्य लगायतका जिम्मेवारी उनले सम्हालिसकेका छन्।कार्की २०७१ सालमा सम्पन्न भएको नेकपा (एमाले)–को नवौँ रास्ट्रिय महाधिवेशन बाट केन्द्रीय कमिटीमा प्रवेश गरेका हुन् । त्यस महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि उनले २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी वहन गरे।
पार्टीको संरचना २०७४ पछि संघीयता अनुसारको भएपछि उनले प्रदेश १ को प्रचार विभागको प्रमुखको भूमिका पनि निर्वाह गरे।उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट प्रत्यक्ष निर्वाचित भए। यसपछि २०७४ फागुन ३ गते कार्कीले प्रदेशको स्थापनाकालीन मन्त्रीपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाए।कार्की आफू करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कार्यरत रहँदा ५७ वटा विभिन्न प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली र कार्यविधि तर्जुमा गरी आफूले कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको दाबी गर्छन्।उनले प्रदेशको शान्तिसुरक्षाका लागि प्रदेश प्रहरीको क्षमता अभिवृद्धि, संस्थागत सबलीकरण, आधुनिकीकरण र पूर्वाधारको विकासमा आफूले महत्त्वपूर्ण योगदान गरेको जिकिर गरेका छन्।उनी हाल नेकपा (एमाले)–को स्थायी कमिटी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–इन्चार्जका भूमिकामा छन्।साभार