धनगढी: धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०८२ अन्तर्गत आज चर्चित गायक दुर्गेश थापा सहित विभिन्न लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने भएको छ। महोत्सवलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाउन आजको सांगीतिक कार्यक्रम विशेष बनाइएको आयोजकले जनाएको छ।
आजको कार्यक्रममा गायक दुर्गेश थापासँगै खुमन सिंह, आरती शाह, रमिला नेपाली, आर.के. थारु, समिर परियार तथा सोनु कुस्मी लगायतका कलाकारहरूले आ–आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। लोक, आधुनिक तथा थारु संस्कृतिसँग सम्बन्धित गीत–संगीतको मिश्रणले दर्शकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
आयोजक कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार महोत्सवप्रति दर्शकको उत्साह निरन्तर बढ्दो छ। “स्थानीय कला, संस्कृति र व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। आजको सांगीतिक कार्यक्रममा दर्शकको भीड अझ बढ्ने विश्वास छ,” उनले बताए।
महोत्सव स्थलमा सांगीतिक कार्यक्रमसँगै स्थानीय तथा राष्ट्रिय स्तरका व्यापारिक स्टल, खानाका परिकार, हस्तकलाका सामग्री, कृषि उत्पादनको प्रदर्शनी तथा बालबालिकाका लागि मनोरञ्जनात्मक खेलकुदका व्यवस्था पनि गरिएको छ। यसले महोत्सवलाई परिवारसहित अवलोकन गर्न सकिने गन्तव्यका रूपमा विकास गरेको आयोजकको भनाइ छ।
सुदूरपश्चिम महोत्सवले स्थानीय कलाकारलाई राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै क्षेत्रीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको सरोकारवालाहरू बताउँछन्। आयोजकले आजको कार्यक्रममा समयमै उपस्थित भई कार्यक्रमको भरपूर मनोरञ्जन लिन सर्वसाधारणलाई आग्रह गरेको छ।


