कञ्चनपुर। कञ्चनपुरमा सामुदायिक वनका उपाध्यक्ष माथि हँसिया प्रहार भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटामा अवैद्य काठ बरामद गर्न गएका कालिका सामुदायिक वनका उपाध्यक्ष रुद्रीदत्त विष्टमाथि हँसिया प्रहार भएको (वनका) अध्यक्ष लालबहादुर ऐरले जानकारी दिए। उनले उपाध्यक्षमाथि पिल्लरीफाँटाका स्थानीय २५ वर्षीय मिलन जप्रेलले हँसिया प्रहार गरेको बताए।
वर्षातको समयमा खोलाले बगाएर ल्याएको सालको रुख चोरी भएको खोजी गर्दा जप्रेलको खेतमा गाडिएको अवस्थामा भेटिएको उनले बताए। खेतबाट निकाल्दा जप्रेलले उपाध्यक्षमाथि हँसिया प्रहार गरेको बताए । हँसिया प्रहारबाट विष्टको टाउकोमा गहिरो चोट लागेको र धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। हँसिया प्रहार गर्ने जप्रेललाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। शुक्लाफाँटा सव डिभिजन वन कार्यालयका प्रमुख दुर्गेस धामीले जप्रेलको खेतमा लुकाइएको अवस्थामा ३ थान सालको गोलिया र १ थान विजयसालको गोलिया गरी ४८ क्यूफिट काठ भेटिएको जानकारी दिए।