धनगढी। कैलालीमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ करिब १९ हजार मत बदर भएको पाइएको छ । मंसिर ४ गते भएको आम निर्वाचनमा कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा गरेर जम्मा १८ हजार ९७१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन्। सबैभन्दा बढी कैलाली निर्वाचन क्षेत्र ४ मा मत बदर भएको देखिएको छ।
जसअनुसार कैलाली निर्वाचन क्षेत्र नंम्बर १ मा ३ हजार २ सय ८६ मत बदर भएको पाइएको छ। यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा तीन हजार ६६४, निर्वाचन क्षेत्र नम्बर ३ मा चार हजार २१, निर्वाचन क्षेत्र नंम्बर ४ मा ४ हजार १५३ र कैलाली निर्वाचन क्षेत्र ५ मा ३ हजार ८४७ मत बदर भएको जनाइएको छ। सबैभन्दा बढी कैलाली निर्वाचन क्षेत्र ४ मा मतदातासंख्या पनि बढी रहेका छन्। कैलालीमा पाँच लाख ३५ हजार ५१४ मतदाता छन्। क्षेत्र नम्बर १ मा एक लाख ६ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार १६४ मत खसेको थियो ।
खसेकोमध्ये ६० हजार ८७८ मत सदर भएको थियो। यस्तै, क्षेत्र नम्बर २ मा एक लाख चार हजार ९०६ मतदाता रहेकामा ६० हजार ६२९ मत खसेको थियो। ५६ हजार ९६५ मत सदर भएको थियो। यसैगरी, क्षेत्र ३ मा एक लाख सात हजार ६५९ जना मतदाता छन्। सो निर्वाचन क्षेत्रमा ६३ हजार ७४० मत खसेको थियो। जसमध्ये ५९ हजार ७१९ मत सदर भएको थियो। निर्वाचन क्षेत्र ४ मा एक लाख १० हजार ४५३ मतदाता रहेकामा ६३ हजार ३८६ मत खसेको थियो।
खसेकोमध्ये ५९ हजार २३३ मत सदर भएको थियो। यसैगरी, एक लाख ५७ हजार ७९३ जना मतदाता रहेको क्षेत्र ५ मा ६५ हजार ६१३ मत खसेको थियो । खसेकोमध्ये ६१ हजार ७६६ मत सदर भएको थियो। मतदाता शिक्षा पर्याप्त र प्रभावकारी नहुँदा मत बदर भएको जनाइएको छ। तर यस पटकको निर्वाचनमा बढीभन्दा बढी मत सदर गर्नका लागि निर्वाचन आयोगले हरेक पालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। यस कारणले मतदाता शिक्षा प्रभावकारी नभएको पाइएको हो।गोरखापत्रबाट