धनगढी। सुदूरपश्चिममा नौ जना पूर्वमन्त्री प्रतिनिधि सभा सदस्यको चुनावमा पराजित भएका छन् । मंसिर ४ गते भएको प्रतिनिधी सभा सदस्य तर्फको आम निर्वाचनमा उनीहरु पराजित भएका हुन् । पराजित हुनेमा सङ्घीय नौ जना पूर्वमन्त्रीहरु छन् । ती मध्ये सबैभन्दा बढी कैलालीका पाँच जना पूर्व मन्त्री पराजित भएका छन् ।
प्रधानमन्त्री सहित तीन जना बहालवाला सङ्घीय मन्त्री भने विजयी भए। विजयी हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडु दार्चुला र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर अछामबाट भए। विभिन्न निर्वाचन क्षेत्रमा १३ जना पूर्वमन्त्रीहरु चुनाव लडेकोमा आठ जना असफल भए । कैलाली क्षेत्र नंं. ४ बाट दुई पटक निर्वाचन जित्नु भएका लेखराज भट्टको संसदीय यात्रा रोकिएको छ । यसअघि, भट्टले २०६४ मा संविधान सभा सदस्य र २०७४ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जित हाँसिल गरेका थिए।
यसपटकको निर्वाचनमा भट्ट तीन हजार ५८४ मतान्तरले पराजित भए। उनले २२ हजार ५८७ मत प्राप्त गर्दा बिजयी वीर बहादुर बलायरले २६ हजार १७१ मत प्राप्त गरे । भट्ट श्रम तथा यातायात मन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनीसकेका थिए । यसै गरी, कैलाली क्षेत्र नं. १ मा पूर्व मन्त्री राम जनम चौधरी अत्यधिक मतान्तरले पराजित भए। उनी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीसँग १२ हजार ३२३ मतान्तरले पराजित भए । पराजित चौधरीले १८ हजार ८१ मत पाए भने विजयी चौधरीले ३० हजार ४०४ मत पाए । राम जनम चौधरीले २०४८ साल, २०५१, २०५६ र २०७० को निर्वाचन जितेर सामान्य प्रशासन सहायक मन्त्री, शिक्षा सहायक मन्त्री, भूमि सुधार राज्यमन्त्री र स्वास्थ्य मन्त्री भैसकेका थिए । २०७४ मा कैलाली क्षेत्र नं ३ बाट उठ्दा पराजित भएका थिए । यस पटक क्षेत्र नंम्बर १ मा पराजित भए।
त्यस्तै, कैलाली क्षेत्र नं। ३ मा पूर्व मन्त्री गौरीशङ्कर चौधरी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हार व्यहारे। नौ हजार ८७४ मत प्राप्त गरेर पराजित भए । पूर्व माओवादी चौधरी यस पटक नेकपा एमाले बाट चुनाव लड्नु भएका थिए । उनी कृषि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरेर दुई पटक मन्त्री भैसकेका छन्। तत्कालीन माओवादी पार्टीबाट कैलाली क्षेत्र नंम्बर ४ बाट २०७० कोे निर्वाचन र २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्र नं ३ बाट जितेका थिए ।
चुनाव हार्नेमा कञ्चनपुर क्षेत्र नं १ बाट विना मगर, दार्चुलाबाट गणेश ठगुन्ना र कैलालीका नारदमुनी राना पनि छन्। पूर्व वन तथा वातावरण मन्त्री रहेका राना कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्तसँग पराजित भएका छन् । पराजित रानाले २० हजार तीन सय १८ मत र विजयी पन्तले २१ हजार ३९२ मत पाए।
२०७४ को निर्वाचनमा रानाले उतीबेला नेपाली काँग्रेसका नेतृ डा. आरजु राणा देउवालाई पराजित गरी विजयी भएका थिए । यस्तै क्षेत्र नं ५ मा सञ्चार राज्यमन्त्री पुष्करनाथ ओझा पनि पराजित हुनु भएका छन् । यसपटक स्वतन्त्र उम्मेदवार भएर चुनाबमा होमिएका ओझाले आठ हजार ३४९ मत पाएर पराजित हुन पुगे । पूर्व सञ्चार राज्यमन्त्री ओझाले २०५६ आमनिर्वाचन क्षेत्र नं। ३ र २०७० को उपनिर्वाचन क्षेत्र नं। ५ बाट जितेका थिए । यस्तै गरेर बैतडीमा स्वतन्त्र उम्मेदवार हुनु भएका केशवबहादुर चन्द पराजित भए । नेपाली काङ्ग्रेसबाट राज्यमन्त्री र २०७४ मा पाटन नगरपालिकाको मेयर भएका थिए । सो क्षेत्रमा नेकपा एमाले का प्रदेश अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीले प्रतिनिधि सभामा ह्याट्रिक गरेका छन् । भण्डारी २०७० र २०७४ यस पटक गरेर लगातार जित्नु भएको छ ।
सफल हुनेमा पूर्व मन्त्रीमा वीरबहादुर बलायर, बझाङबाट पूर्व मन्त्री भानुभक्त जोशी, डोटीबाट प्रेम आले मगर र बैतडीमा पूर्व राज्यमन्त्री भण्डारी हुनुहुन्छ । बाजुरामा पूर्व मन्त्री कर्णबहादुर थापा चुनाव लड्नु भएको छ । सो क्षेत्रमा अझै मतगणना भएको छैन। सुदूरपश्चिम प्रदेशका चार जना बहालवाला मन्त्रीले पनि प्रदेश सभा सदस्यतर्फ चुनाव लडेका दुई जनाको जित र दुई जनाको हार भएको छ । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहनु भएका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी कैलाली क्षेत्र नं ४ प्रदेश सभा ‘क’ बाट पुनः निर्वाचित भएका छन् । तर, आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावल भने पराजित हुनु भएको छ । यस्तै कञ्चनपुर नं ३ ‘क’ आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल विजयी भए भने डडेलधुरा ‘ख’ बाट सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पराजित भएका छन् । यस्तै कैलालीका चार नगरप्रमुख पनि पराजित भएका छन् । प्रतिनिधि सभामा टीकापुर नगरपालिकाको प्रमुख तपेन्द्र रावल, गौरीगङ्गा नगरपालिकाका पूर्व नगरप्रमुख कैलाली–४ प्रदेश सभा ‘क’ र ‘ख’ मा भीमबहादुर देउवा र गोदावरी नगरपालिकाका पूर्व नगरप्रमुख हरिसिंह साउँद पारजित भएका छन् । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र विष्ट कञ्चनपुर क्षेत्र नं। ३ ‘ख’ बाट प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा असफल भएका छन् ।गोरखापत्रबाट