महोत्तरी। महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उपमहासिचव गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका लक्ष्मी कोइरी महतो निर्वाचित भएका छन्। १५ वर्ष सांसद र पटकपटक मन्त्री भइसकेका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार आइतबार बिहान सकिएको महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना परिणाममा महतो २३ हजार ४ सय २ मत ल्याई विजयी भएका छन्। उनले माओवादीका पोखरेललाई १ हजार ३० को मतान्तरले पराजित गरेका हुन्। पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरेका थिए। पोखरेल यो निर्वाचन क्षेत्रबाट तीनपटक सांसद जितेका थिए। महोत्तरी क्षेत्र नम्बर १ बाट २०६४ को संविधानसभामा निर्वाचित भएपछि उनले लगातार २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन पनि जितेका थिए। उनी यसबीचमा पटकपटक शिक्षा र स्वास्थ्यमन्त्री बनेका थिए। उनी २०६४, २०६५ र २०७४ सालमा मन्त्री बनेका थिए।