बझाङ्ग। बझाङ्गको साइपालका विकट ५ मतदानस्थलको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ। बझाङ्गको साइपाल गाउँपालिकाको विकट ५ मतदानस्थलको मतपेटिका हेलिकोप्टर र पैदलबाट सदरमुकाम चैनपुर ल्याउने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए।
हेलिकोप्टरमार्फत मतपेटिका ढुवानीपछि सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुने बताए। हालसम्म बझाङका ११ वटा स्थानीय तहका १ सय ३० मतदान स्थलको मत पेटिका सदरमुकामस्थित जिल्ला अदालत मतगणनास्थल पुर्याइएको छ । निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङमा यसपटकको निर्वाचनमा ६३ हजार ४ सय ८९ मत खसेको हो।
बझाङको प्रदेशसभा (१) का लागि ६१ हजार १ सय ६९ मतदाता रहेकोमा ३२ हजार ८ सय ३३ मत खसेको छ। जुन ५३ दशमलव ६८ प्रतिशत हो। प्रदेशसभा (२) का लागि ६१ हजार २ सय ७ मतदाता रहेकोमा ३० हजार ६५६ मत खसेको छ जुन ५२ प्रतिशत हो। एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको बझाङमा ७ जना प्रतिनिधिसभा सदस्यका लागि र ६ जना प्रदेशसभाका लागि चुनावी मैदानमा छन्। छिटफुट घटना घटे पनि बझाङमा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख विमलप्रसाद गौतमले बताएका छन् ।