सुदूरपश्चिम। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतदान भइरहँदा सुदूरपश्चिमका विभिन्न ठाउँमा झडप भएको छ भने कतै मतपेटिका जलाइएको छ । यस्तै प्रदेशका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले डिस्पोज गरिसकेको छ।मतदानको क्रममा विवाद हुँदा सुदूरपश्चिमका विभिन्न ठाउँमा झडपको स्थिती सिर्जना भएर केहीबेर मतदान स्थगित गर्नु परेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलका अनुसार सबैभन्दा बढी विवाद बाजुरामा भएको छ। उनले बाजुरामा विवादले घरिघरि मतदान रोकिने र चल्ने भइरहेको बताए । त्यहाँ केही ठाउँमा विवाद भएको र अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीनन्दा नगरपालिका–७ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएको जनाएको छ। नेपाली कांग्रेसका कार्यकर्ताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरुबीच झडपको स्थिती सिर्जना भएको हो।
यस्तै बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, स्वामिकार्तिक खापर गाउँपालिका–४, त्रिवेणी नगरपालिका–७, बुढिगंगा नगरपालिका–८, बुढीनन्दा–५ लगायका मतदान केन्द्रमा विवाद भएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार ६ ठाउँमा अझै विवादका कारण मतदान सुरु हुन नसकेको र मतदान सुचारु गर्ने प्रयास भइरहेको उनले बताए । स्वामी कार्तिक खापर गाउँपालिका–१ रुडीस्थित भगवती आधारभूत विद्यालय मतदानस्थलको मतपत्र जलाइएको छ। प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एक्कासी आगो लागेको वडा सदस्य नन्दलाल धामीले जानकारी दिए।बिहानदेखि कुनै विवाद नरहेको र आगो कसरी लाग्यो भन्नेबारेमा जानकारी नभएको बताउँदै आगो लागेको देखेपछि निभाइएको र मत भने नजलेको बताए । करिब एक सय मत मात्रै खस्न बाँकी रहेको बेला मतपेटिकामा आगो लागेको हो।
मतपेटिकामा आगो लागेपछि अहिले मतदान प्रक्रिया रोकिएको छ। बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका–९ मालिका मावि मतदानस्थलमा ५ राउण्ड हवाई फायर भएको हो। कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएपछि झडपको अवस्था उत्पन्न भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए। अहिले त्यहाँ मतदान रोकिएको छ। सुदूरपश्चिमको पहाडी क्षेत्रका दार्चुला, बाजुरा, बझाङ र डोटीमा विवाद उत्पन्न भएको छ। डोटीको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ। विवादपछि झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए। केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको थियो।
दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाइ फायर भएको छ। मतदानको विषयमा विवाद हुँदा दुई पक्षीय झडपको स्थिती सिर्जना भएपछि प्रहरी हवाइ फायर गरेको हो। हवाइ फायर पछि केही समय मतदान स्थगित भएको थियो। अहिले भने मतदान पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको सामान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो। त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।
बझाङको केदास्युँ गाउँपालिका–१ बेताल माध्यमिक विद्यालय, रातापानीमा मतपेटिका फुटाइएको छ। स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीचको विवादमा मतपेटिका फुटाइएको हो। फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेपछि मतदान जारी रहेको थियो। यस्तै बझाङमा झडप रोक्न खोज्दा एक प्रहरी जवान घाइते भएका छन्। बझाङको छविस पाथिभेरा गाउँपालिका–१ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा दलका कार्यकर्ताहरूबीच भएको झडप रोक्न हवाइ फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको हो। झडप रोक्नका लागि प्रहरीले हवाइ फायर समेत गर्नु परेको थियो। घाइते प्रहरी हवल्दारको पहिचान खुल्न सकेको छैन।