धनगढी। सुदूरपश्चिमका सीमानाका बिहीबार राति १२ बजेबाट बन्द भएका छन्। आईतबार तथा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बिहीबार राति १२ बजेबाट भारतसँग जोडिएका सुदूरपश्चिमका सम्पूर्ण सीमानाका बन्द गरिएका हुन्।
कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलाका सीमानाका बन्द गरिएका छन्। मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मका लागि नाकाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालहरुले जनाएका छन् । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द गरिएको छ। प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिएको उनले बताए ।
निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको बैतडीमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको छ । यता नेपालसँग जोडिएका सीमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । सीमाबाट एम्बुलेन्स लगाएतका अति आवश्यक बाहेकका समाग्री भित्रिदैनन्। सीमा क्षेत्रमा चहलपहल नभएका बेला अपराधिक गतिविधि हुने आशंका भएकाले सोही कारण नेपाल र भारतका सुरक्षाकर्मीहरुको संयुक्त गस्तीको योजनाको सहमती भएको बताएका छन् ।