बाजुरा। बाजुरा जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन्। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति समवेदनशील मतदान स्थल मानिएको छ। यस्तै २३ समवेदनशील मतदान स्थल रहेका बिष्टले वताए।
उनका अनुसार ७० मध्ये चार मतदान स्थल मात्रै सामान्य अवस्थाका छन् । प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी बिष्टका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि करीव दुई हजार सुरक्षाकर्मी चुनावका लागि खटिने छन् ।