धनगढी। नेकपा एमालेले सुदूरपश्चिमको दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ। मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो। एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले कात्तिक १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने बताए।
उनले अध्यक्ष ओली हेलिकप्टरमार्फत् दार्चुला पुगेर सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्ने जानकारी दिए। ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा जारी भएकै जिल्लाबाट चुनावी सभाको उद्घाटन हुने भएपछि एमाले दार्चुलाले त्यसको तयारी तीव्र पारेको जनाएको छ। एमाले प्रचार विभाग प्रमुख खडक बडालले खलंगामा हुने चुनावी सभामा जिल्लाभरिका १० हजार जनता उतार्ने तयारी रहेको बताए।
ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर चुच्चे नक्सा सार्वजनिक गरेको थियो। यसलाई सफलताको रूपमा लिएका ओलीले चुनावी अभियान सुरु गर्न पनि दार्चुलालाई नै रोजेका हुन्। प्रदेश सचिव पाठक पनि एमाले सरकारको पालामा चुच्चे नक्सा जारी भएको र अब एमाले नेतृत्वकै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गरे। १८ कात्तिक दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने पाठकले जानकारी दिए।