डडेल्धुरा। डडेल्धुरामा आचारसंहिताविपरीत उम्मेदवारको चुनावी प्रचारप्रसार र मत माग्नमा जनप्रतिनिधिहरु लागेको पाइएको छ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तथा मत माग्न नपाइने भनेर निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि जनप्रतिनिधिले खुलेआम मत मागिरहेको पाइएको हो।
निर्वाचन आयोगले आचारसंहिता जारी गरेपनि डडेल्धुराको अमरगढी नगरपालिकाका जनप्रतिनिधि भने खुलेआम गठबन्धनको प्रचारमा गइरहेका छन्। नेपाली काँग्रेसबाट अमरगढी नगरपालिकामा निर्वाचित नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वतीदेवी झुकाल र अमरगढी नगरपालिका–५ का वडाअध्यक्ष टंक क्षेत्रीले आफ्ना दलीय उम्मेदवारका लागि मत मागिरहेका छन्। सोमबार बिहान उनीहरू डडेल्धुरा प्रदेश ‘ख’ का बाम काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरासँगै अमरगढी–५ झुरकालीमा मतदातासँग मत माग्न पुगेको एक स्थानीयले बताए।
नेपाली काँग्रेस अजयमेरु गाउँपालिकाका सभापति टेकराज पाण्डेयले पनि सामाजिक सञ्चालमा मतदातासँग भेटघाट भन्दै मेयर जोशीलगाएतका जनप्रतिनिधिको तस्वीर राखेका छन्।तर, यता अमरगढी नगरपालिकाका नगरप्रमुख जोशीले आफूले आमसभामा गरेर मत नमागेको बताए। उनले आफू नेपाली काँग्रेसको उपसभापति भएको कारण मत माग्ने गरेको तर, अमासभामा गएर मत नमागेको दावी गरे ।डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जनप्रतिनिधिहरूले मत माग्न नपाइने निर्वाचन आयोगको आचारसंहिता प्रष्ट पारेको बताए। उनलेआचारसंहिता सबैले पालना गर्नुपर्ने बताउँदै आचारसंहिताको पालना नगरेको भन्ने उजुरी आए छानबिन गर्ने जानकानरी दिए ।