काठमाडौं। अछाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले एमाले नेता भीम रावलले आफूलाई सहयोग गर्ने विश्वास गरेका छन् ।
रावल अछाम १ मा आफूले टिकट नपाएपछि एमालेसँग असन्तुष्ट छन् भने केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष केपी ओलीको कडा आलोचना गरेका थिए । यही क्रममा मंगलबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको र उनका अभिव्यक्तिले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सहयोग पुग्ने बताए ।
‘भीम रावललाई राष्ट्रिय नेता हो, उहाँ अछामी जनताको अभिभावक पनि हो, अछामी जनताले रोजेका र जनताको हितमा काम गर्ने उम्मेदवार बनाएकोले उहाँले हामीलाई सहयोग गर्नुहुन्छ” उनको विश्वास छ । उनले लोकतन्त्र र संविधान रक्षाको लागि गठबन्धन बनेकाले रावललगायत अछामको बौद्धिक समुदायले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त समेत गरे ।मन्त्री कुँवरले कस्ता उमेदवारले अछामी जनताको प्रतिनिधित्व गर्न सक्छन भन्ने कुरा जनतालाई थाहा भएकाले अछामी जनताले गठबन्धनलाई मत दिने विश्वास व्यक्त गरे ।
त्यस्तै, उनले भीम रावल राष्ट्रिय नेता तथा अछामी जनताको अभिभावक समेत रहेकाले एमालेले टिकट नदिएर सही वा गलत गर्यो भन्ने कुरा जनताले फैसला गर्ने बताए ।कुँवरले आफूले कुटो, कोदाली, बाख्रा चलाउनेदेखि संविधान लेखन, राष्ट्रियसभामा रहेर देश र राष्ट्रियताको विषयमा आवाज उठाएको अछामी जनताले बुझेको बताए । सेती लोकमार्गजस्ता विकासका अधुरा योजना पूरा गर्न र जनताका समस्या समाधानसँगै लोकतन्त्र र संविधानको रक्षाको लागि आफूले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकोले जित सुनिश्चित जस्तै भएको कुँवरले दाबी गरे ।
मन्त्री कुँवरले आफूले मन्त्रालयको जिम्मेवारी समालेको चार महिनामा श्रमिकसँग श्रममन्त्री, सामाजिक सुरक्षा कोषलाई श्रमिकको पक्षमा उपयोग, नयाँ श्रम गन्तव्यको खोजी, सीपलाई श्रमसँग जोड्नेलगायतका कार्यक्रम लागु गरेको जानकारी समेत दिए । उनले बेलायत, जर्मनी, हंगरीजस्ता देशमा श्रम सम्झौता गरेको समेत बताए ।
त्यसैगरी कार्यक्रममा सोही निर्वाचन क्षेत्र अन्तरगत प्रदेशसभा क का उम्मेदवार मेघराज खड्काले देशको आवश्यकताका कारण गठबन्धन बनेको बताउँदै आफूहरु प्रतिवद्ध भएको बताए । उनले गठबन्धनका उम्मेदवारलाई जिताएर प्रदेश र संघको सरकार बनाएर लोकतन्त्र र संविधान रक्षा गर्ने बताए । सुदूरपश्चिम प्राकृतिक साधान र स्रोतको प्रयोग गरी खड्काले धनी प्रदेश बनाएर जनताको जीवनमा समृद्धि ल्याउन पनि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताए ।