धनगढी : सुदूरपश्चिमेलीको महान चाड ओल्के पर्ब सबैतिर मनाइरहेका थिए । ओल्के पवृ छोडेर रोजगारीकै लागी बझाङको बुङ्गल गाउँपालिकाका ६ जना दार्चुलाको बाटो हुँदै भारत जान लागेका थिए । ओल्के पर्व समेत नमनाएरै भारत हिँडेका उनिहरु रोजगारी गर्नुपर्ने ठाउँमा नपुग्दै दुर्घटनामा परे ।
बोलेरो जिप चढेर दार्चुला सदरमुकामतर्फ गइरहेका उनिहरु दुर्घटनामा परे । दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नम्बर ६ मा जिप पल्टियो र ६ जना मध्ये ५ जनाको घटनास्थलमै ज्यान गयो ।
दुर्घटनामा परी हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहराको मृत्यु भैको थियो । रैभान र चम्फा श्रिमान श्रिमती हुन् । सो जिपमा गएका ६ जना मध्ये बाँच्न सफल भएका एक मात्र ब्यक्ती धन बहादूर जागरी हुन् ।
भदौ १ गते बुधबार गोकुलेश्वरबाट दार्चुला सदरमुकामका लागी छुटेको जिप शैल्यसिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा दार्चुला मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ की गोमती देवी धामी, ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन गाउँपालिका–६ की ४० वर्षीया रेवती धामी, महाकाली नगरपालिका–७ का ३५ वर्षीय रमेश लुहार, बझाङको बुङगल नगरपालिका–८ का धनबहादुर जागरी र बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदिप राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रतिक बिष्टले बताए ।
जिप सडकबाट २५० मिटर तल खसेको छ । जिप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।