धनगढी। कैलाली स्थित धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन्। धनगढी उपमहानगरपालिका द्वारा सञ्चालित इन्स्टिच्यूटमा आज आइतबार विद्यार्थीले विभिन्न माग राख्दै ताला लगाएका हुन्। विद्यार्थी अमित ठगुन्नाले वडा नम्बर ६ मा रहेको इन्स्टिच्यूटमा ड्रोइङ शिक्षक, शौचालय निर्माण, खानेपानी तथा विद्युतको व्यवस्थापन, ल्याब स्थापनाको मागसहित ताला लगाइएको जानकारी दिएका छन्।
विद्यार्थीहरुले प्रयोगात्मक परीक्षासमेत दिन नपाएको गुनासो गरेका छन् । चालु वर्षका लागि बजेटपनि नदिएका कारण अनिश्चितकालका लागि कार्यालयमा ताला लगाएको विद्यार्थी ठगुन्नाले बताए। उपमहानगरपालिका उक्त माग सम्बोधन हुनेगरि काम नगर्दासम्म ताला नखोल्ने विद्यार्थीहरुको भनाई छ। विद्यार्थीहरुले आफ्नो भविष्य माथी खेलवाड गरेको आरोप लगाएका छन् । धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा रहेको विद्यार्थी यूनियनले यस अघि साउन २४ गते मागहरु स्मरण हुने गरि इन्ष्टिच्यूट प्रशासनलाई ज्ञापनपत्र बुझाएको विद्यार्थी लोकराज ओझाले बताए । उनले भने, धनगढी उपमहानगरपालिकाले प्राविधिक शिक्षालयमा आधारभूत प्रयोगात्मक अभ्यास गर्ने प्रयोगशाला पनि छैन , हाम्रो भविष्य माथी खेलवाड गरिरहेको छ । इन्ष्टिच्यूट लथालिंग पारेको छ ।
इन्स्टिच्युटका प्रिन्सीपल सुर्यबहादुर कार्कीले पनि विभिन्न मागसहित विद्यार्थीले कार्यालयमा ताला लगाएको बताए। ‘उनले अहिले समस्याको समाधानका लागी हामी नगरपालिकामा छौं। उनले भने, विद्यार्थीहरु पनि आउनुहुन्छ। हामीहरु बसेर यो समस्याको समाधान निकाल्छौं । कलेज उप–महानगरपालिको वडा नं ६ जालीमा रहेको छ । यहाँ उपमहानगरपालिकाले सामान्य प्रयोगशाला समेत निर्माण नगरिदिदा विद्यार्थी प्रयोगात्मक अभ्यास गर्नबाट बन्चीत छन् । सामान्य प्रयोगात्मक अभ्यासका लागि समेत बजार र अरु विद्यालयका प्रयोगशाला धाउनुपर्ने अबस्था छ । विद्यार्थी यूनियनले यस बिषयमा पटक पटक इन्ष्टिच्यूट प्रशासनको ध्यान आकर्षण गराएको विद्यार्थीले बताएका छन् । यहाँ होटल अटोमोवाईल इन्जिनियरिङ्ग र होटल म्यानेजमेन्ट डिप्लोमाका गरि १ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् ।