बझाङ। स्थानीय निर्वाचनमा खटिएका सुरक्षा प्रमुखले निर्वाचन सुरक्षाको भत्ता पाएका छैनन् । स्थानीय तहको निर्वाचनमा खटिएबापत जिल्लास्थित सुरक्षा निकायका प्रमुखले पाउनुपर्ने निर्वाचन भत्ता नपाएको गुनासो गरेका हुन् । भत्ता सुविधाबापत आएको रकम जिल्ला प्रशासन कार्यालयले आफ्ना कर्मचारीको खातामा हालेपछि सुरक्षा प्रमुख भत्ताबाट बञ्चित भएका छन् ।
निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन सेलका सदस्यले उनीहरूले खाइपाई आएको एक महिनाको तलबको ६० प्रतिशत हुन आउने रकम भत्ता बापत पाउने व्यवस्था छ । ‘भत्ता बापतको रकम जिल्ला प्रशासन कार्यालयको खातामा आएको जानकारी पाएका हौं,’ एक सुरक्षा निकाय प्रमुखले भने, ‘त्यो पैसा हामीले पाएका छैनौं ।सिडिओ र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले खाइसके भन्ने सुनिन्छ ।’ गत असार २१ मा नै भत्ताबापत आएको २ लाख १५ हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयका कर्मचारीको नाममा भुक्तानी भैसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललगायत जिल्ला प्रशासनका १३ जनाको नाममा रकम भुक्तानी भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत राजेन्द्र खत्रीले बताए । ‘सिडिओ साबले सेलका अन्य पदाधिकारीले भुक्तानी पाउँ भनेर निवेदन नदिएकाले आफ्नै कर्मचारीको खातामा रकम हालेको हुन सक्छ,’ खत्रीले भने, ‘१३ चेक काटिएको छ ।’ स्थानीय तह निर्वाचन सुरक्षा र व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको निर्वाचन सेलकाले १ महिनाको तलबको ६० प्रतिशत रकम भत्ताबाफत पाउने व्यवस्था रहेको छ ।
सेलमा जिल्लास्थित नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी इकाइको प्रमुख, नेपाली सेनाको प्रमुख, राष्ट्रिय अनुसन्धान विभागको प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहन्छन् । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने मापदण्ड नै स्पष्ट नभएकाले जिप्रका कर्मचारीको नाममा रकम निकासा गरिदिएको तर बाहिर कुरा आएपछि नपाउनु पर्ने कर्मचारीलाई गएको रकम राजस्वमा फिर्ता गरिदिएको बताए । ‘गृहले दिएको मापदण्ड स्पष्ट नभएका कारण निर्वाचन सेलको पैसा जिल्ला प्रशासनको कर्मचारीलाई केही नहोस् भनेर उनीहरूको खातामा हालिदिएको हुँ,’ अर्यालले भने, ‘नपाउनुपर्नेले पाएको भन्ने कुरा आएपछि जजसले नपाउनुपर्ने हो, उनीहरूको खातामा गएको रकम नेपाल सरकारको खातामा जम्मा गरिसकेको जानकारी दिए ।