बैतडी। बैतडीको झुलाघाटस्थित नेपाल-भारत सीमा नाकामा जीर्ण रहेको पुलको लक टुटेपछि आवागमन रोकिएको छ। मंगलबार बिहान करिब ९ बजे पुलको भारततर्फको लक टुटेको सीमामा खटिएका सुरक्षाकर्मीले बताएका छन् । जीर्ण रहेको काठको पुलको लक टुटेपछि मंगलबारबाटै पुल बन्द गरिएको छ।
पुल भाँचिएको जानकारी पाएपछि निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । काठको पुलको भारततर्फको फल्याक नै भाँचिएकोले आवतजावत रोकिएको उनले बताए । यो विषयमा पिथौरागढ जिल्लाका डीएमसँग फोनवार्ता भएको पनि प्रजिअ पन्थीले बताए । उनले भने, ‘डीएम कार्यालयका प्रतिनिधि र त्यहाँका इन्जिनियरसँग भेटघाट पनि भयो । बुधबारबाट भारतीय पक्षले मर्मत गर्ने कुराकानी भएर अहिलेलाई बन्द गरेका छौं । मर्मतपछि सञ्चालन गर्नेछौं ।’
नाकामा आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । महाकाली नदीमाथि रहेको झुलाघाट पुल जीर्ण भएपछि मर्मत कार्य भइरहेको हो । दुवै देशका सुरक्षा अधिकारीहरुको बैठक बसेर पुल मर्मत गर्ने सहमति गरेका थिए । झुलाघाट पुलका केही पट्रीहरु टुटफुट भएकाले मर्मत कार्य शुरु गरिएको हो । भारत सरकारका तर्फबाट पुल मर्मत गर्ने कार्य भइरहेको सूचना अधिकारी भारतीले बताए ।