बझाङ। राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले आफ्नै पार्टीका उम्मेदवारविरुद्ध गलत प्रचार गरेको भन्दै नौजनालाई कारबाही गरेको छ ।
आइतबार राप्रपाको कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई पराजित गर्न भूमिका खेलेको भन्दै उनीहरुलाई कारबाही गरेको हो ।
‘स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई पराजित गरेको, उम्मेदवारलाई प्रसारप्रचारमा सहयोग नगरेको, पार्टीले उठाएका उम्मेदवारका विरुद्धमा प्रसारप्रचार गरेका कारण उहाँहरुलाई ५ वर्षसम्मका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,’ राप्रपाका जिल्ला कायसमिति अध्यक्ष धीरजविक्रम सिंहले भने, ‘केन्द्रको र जिल्लाको सर्कुलरमा नरही पार्टीलाई नै पराजित गर्नका लागि भूमिका खेल्नेहरुलाई हामीले कारबाही गरेका हौँ । उहाँहरुका कारण जिल्लाका पार्टीले नराम्रो नतिजा ल्यायो ।’
राप्रपा बझाङको जिल्ला कार्यसमितिको बैठकबाट कारबाहीमा पर्नेमा पूर्वजिल्ला सहअध्यक्ष विश्वप्रकाश जेठारा, सल्लाहकार लालबहादुर खड्का, पूर्वसचिव जनकबहादुर वली, पूर्वकोषाध्यक्ष सुरतबहादुर च्वान,पूर्व पार्टी सदस्य जगतबहादुर सिंह जरोबर, पूर्वउपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष जानकीदेवी खाती र वर्तमान पार्टी सदस्य कर्णबहादुर रोकाया गरी नौजना रहेका छन् । उनीहरुलाई पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको जिल्ला कार्यसमितिका अध्यक्ष धिरजविक्रम सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।