बैतडी। बैतडीको सुर्नया गाउँपालिका ६ खर्काधारका डम्मर अवस्थीको शव एक हप्तादेखि जिल्ला अस्पतालमै रहेको छ । आफन्तहरुले डम्मरको हत्यामा संलग्न सबैको पहिचान नहुँदा सम्म शव नबुझ्ने अडान लिएपछि शव अस्पतालमै रहेको हो।
डम्मरको हत्यामा संलग्न सबैको पहिचान गरी कारवाही गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनुपर्ने आफूहरुको माग रहेको मृतकका दाजु तीर्थराज अवस्थीले बताए। हत्या गरि घर नजिकैको गुफामा गाडेको अवस्थामा डम्मरको शव गएको पौष २८ गते प्रहरीले फेला पारेको थियो । अपहरणको नाटक गरेका सोही ठाउँका हरिश अवस्थीले हत्या गरेको स्वीकार गरी शव गाडेको लोकेसन दिएपछि प्रहरीले शव निकालेको हो।
कुहिएको अवस्थामा फेला परेको अवस्थीको शव पोष्टमार्टम पछि जिल्ला अस्पतालमै रहेको छ। गएको मंसिर १४ गतेबाट हराईरहेका डम्मरको शव झण्डै डेढ महिनापछि फेला परेको हो । उनको हत्यामा सोही ठाउँका हरिश अवस्थी र नवराज अवस्थीले संलग्न रहेको स्वीकार गरिसकेका छन् । दुवै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।