काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए । शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिएका हुन्। कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा राखेको थिएँ ।
कार्यान्वयनको प्रस्ताव पनि गरेको थिएँ । राम्रो वातावरणमा छलफल भएको थियो तर निष्कर्ष सुनाउँदै गर्दा अध्यक्षले हाम्रा सबै छलफल, १० बुँदे सहमति, अन्तरपार्टी निर्देशिका-१२ भन्दा भिन्नै किसिमले १० बुँदे कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेको हुनाले सहमत हुन सकेन, रावलले भने, -त्यसकारण मैले ५ पृष्ठ लामो फरक मत दर्ज गरेको छु।
कार्यदलमा यति लामो कुरा गर्दा पनि र भीम रावललाई नै जिम्मा छ नि कार्यान्वयन गरिहाल्छ नि ! भनेर कतिपय साथीहरूले सार्वजनिक रूपमा अन्तर्वार्ता दिने अनि कार्यदलमा भएका छलफल र निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बस्नुको कुनै औचित्य नभएको हुनाले राजीनामा दिने घोषणा बैठकमा गरेको छु । उपाध्यक्ष रावलले पेस गरेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले पनि सहमति गरेको बताइएको छ । मेरो फरक मतका ५-६ बुँदामा मेरो पनि सहमति छ भनेर उपमहासचिव घनश्याम भुसालले भन्नुभएको छ,रावलले भने ।
असार २७ गते एमाले विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलले १० बुँदे सहमति गरेको थियो । एमाले विभाजन हुने क्रममा सोही कार्यदलमा टेकेर तत्कालीन माधवकुमार नेपाल पक्षमा रहेका १० स्थायी कमिटी सदस्यहरू एमालेमै रहेका थिए । तर, उक्त सहमतिलाई पछिल्लो समय अध्यक्ष ओलीले नै औचित्यहिन बताउँदै आएका थिए ।