धनगढी : राष्ट्रिय जनमोर्चाको बिवाद भात्री संगठनहरुमापनि देखिन थालेको छ । पार्टी भित्रको आन्तरिक विबाद मिलाउन नसकेपछि बिस्तारै बाहिरिन लागेको विबाद झन बढेको छ । जनमोर्चा भित्र बामपन्थी र दक्षिणपन्थीलाई समर्थन गर्ने बिषयबाट शुरु भएको विबाद उत्कर्षमा पुगेको छ । सुदूरपश्चिमबाट समानान्तर कमिटि बनाएर बिद्रोह गरेको राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर २ मा समेत समानान्तर कमिटि निर्माण गरिसकेको छ । तत्कालिन महासचिव महेशराज जोशी नेतृत्वमा अखिल छैठौँको राष्ट्रिय कमिटिनै घोषणा गरेर जनमोर्चाका नेताहरुले नेतृत्वलाई चेतावनी दिएका छन् ।
राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादूर केसी तथा महासचिव मनोज भट्टले पार्टीमा एकलौटी गरेको भन्दै केन्द्रिय सदस्य ललित जाग्री समुहले सुदूरपश्चिममा १ महिना अघी लोकेन्द्र लम्सालको नेतृत्वमा प्रदेश कमिटि घोषणा गरेको थियो । संस्थापन पक्षले भने नन्दराज भट्टलाई प्रदेशको अध्यक्ष तोकेको थियो । त्यसपछिको बिवाद झन बढेको छ । अध्यक्ष चित्र बहादूर केसी तथा महासचिव मनोज भट्ट लगायतले यहाँ कार्यक्रम गरिरहँदा समानान्तर कमिटि गठन गर्ने समुहको सहभागिता थिएन ।
संस्थापनको बिद्रोहमा सो कमिटि बनाएसंगै प्रदेश नम्बर २ मापनि समानान्तर कमिटि निर्माण भएको छ । पार्टीमा देखिएको विबाद बिद्यार्थी संगठनमापनि देखिएको छ । अखिल छैठौँकापनि २ कमिटि घोषणा भएका छन् । तत्कालिन उपाध्यक्ष रहेका देबेन्द्र कुँवरलाई संस्थापन पक्षले अध्यक्ष बनाएको छ भने महासचिव रहेका महेशराज जोशीलाई बिद्रोही पक्षले समानान्तर कमिटिको अध्यक्ष बनाएको छ ।
बिद्रोही पक्षले घोषणा गरेको अखिल छैठौँको मनिश सर्मा, महासचिवमा उमेश कंडेल, सचिवमा आशिस जुवेगु, कोषाध्यक्षमा प्रतिभा सर्मा चयन भएका छन् । यस्तै सचिवालय सदस्यहरुमा शिव चालिसे, महेश भट्ट, हेम बिक्रम चन्द, ऐकेन्द्र कंडेल, सुमन भण्डारी, समर शाही चयन भएका छन् ।
सदस्यहरुमा नरेश झुकाल, कपिल जोशी, संसार कार्की, प्रेम प्रशाद भुषाल, आरति न्यौपाने रोशनी चौधरी, मिलन लम्साल, पुष्कर भट्ट, बिराट चन्द, जनक आचार्य, महेश बिक, प्रकाश जोशी, लोकराज अवस्थी, सन बहादूर राई, निरज थापा, सरिता सुवेदी, जी.वी कुँवर चयन भएका छन् । ३ जना सदस्य मनोनित गर्न बाँकी राखेको छ भने सागर कुँवर र दिवश पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।
बिद्रोही पक्षले पार्टीलाई सही दिशामा सञ्चालन गर्नुपर्ने आवाज उठाउँदा कार्वाहीको भागेदार बन्नुपर्ने भएकाले समानान्तर कमिटि बनाउनु परेको जनाएको छ ।
समानान्तर कमिटिका नव निर्वाचित अध्यक्ष महेशराज जोहीले पार्टी जस्तै अखिलमापनि गलत कामका बिरुद्ध बोल्दा कार्वाहीको डण्डा बजार्ने परिपाटी चलेकाले समानान्तर कमिटि बनाउनु परेको बताए । उनले भने ‘नेतृत्व नैतिक बिचलन तर्फ गइसक्यो अब चित्र बहादूर केसीलाई समेत अध्यक्ष मान्न सक्दैनौँ, हाम्रा माग समेत नसुन्ने पार्टीलाई सशक्त बनाउन लागौँ भन्दा उल्टै कार्वाही ठोक्ने अध्यक्षलाइपनि मान्दैनौँ चाँडै सबै प्रदेश र जिल्लाका बिद्यार्थी संगठनको कमिटिपनि गठन गर्छौँ हामी चलायमान संगठन बनाउँछौँ ।’
पार्टीले जनजिबिकाका सवालमा आवाज उठाउनुपर्ने बेलामा आफ्नै कार्यक्रताहरुलाई कार्वाहीको डण्डा बजाउने काम गरेको भन्दै पार्टी बिरुद्ध बिद्रोहमा उत्रेको उनिहरको दावी छ । नेतृत्वनै बैचारिक रुपमा पतन भइसकेको आरोप समेत उनिहरले लगाएका छन् । राष्ट्रिय जनमोर्चाका एजेण्डा अनुसार पार्टीले काम गर्न नसकेको बताउँदै बिद्रोही नेताहरुले देशभरीबाट बिद्रोह हुने दावी गरेका छन् । चाँडै पार्टीको केन्द्रिय समानान्तर कमिटि समेत निर्माण हुने उनिहरुको दावी छ ।
समानान्तर कमिटिका प्रदेश सचिव समेत रहेका लक्षिराम आचार्यले हामी समानान्तर नभई बिद्रोही समुह भनेर लागिरहेको बताए ।
नेतृत्वलाई सुध्रिन पटक पटक सचेत गराउँदा उल्टै कार्वाही गरेपछि बाध्य भएर अर्कै कमिटि बनाउनुपरेको उनले बताए । पार्टी बिद्रोहमा एक समुह लागिरहँदा जनमोर्चापनि फुटिसकेको छ । बिद्रोह गरेर प्रदेशको समानान्तर कमिटि निर्माण गर्नेहरुलाई भने संस्थापन पक्षले कार्वाही गरिसकेको छ ।