धनगढी : सुदूरपश्चिम प्रदेशमा काग्रेंस नेतृत्वको सरकार गठन गर्न देउवाले गठबन्दनका नेताहरुसंग छलफल गरी निर्णय लिने आश्वासन दिएका छन् । सुदूरपश्चिम सरकारको नेतृत्व काग्रेंसलाई गर्न दिनुपर्ने माग राख्दै आज काग्रेंस सुदूरपश्चिमका नेताहरु बालुवाटार पुगेका थिए ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री भेट्न दलका नेता रावल सहित प्रमुख सचेतक गोबिन्द बोहरा र सांसद भरत खड्का पुगेका थिए। उनिहरुले प्रदेशमा गठबन्धनले कांग्रेसलाई सहयोग नगरेको देउवालाई जानकारी गराएका थिए।
‘सुदूरपश्चिम प्रदेशमा हामीले सरकारलाई सहयोग गरिरहेका छौँ। तर, सरकारले हामीलाई सहयोग गरेन’ देउवासँगको भेटमा काँग्रेस सांसदहरूले भनेका थिए ‘के सुदूरपश्चिम प्रदेशमा दुई पार्टीको मात्रै गठबन्धन हो।’माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन्। केन्द्रमा कांग्रेस र राजपासहितको गठबन्धन हुँदा प्रदेशमा ती दुवै दललाई बेवास्ता गरिएको उनीहरूले प्रधानमन्त्रीलाई गुनासो गरेका थिए।
तीनै जनको गुनासोपछि देउवाले गठबन्धनको बैठक राखेर आवश्यक निर्णय लिईने बताएका थिए। ‘यो गठबन्धन सबैको साझा कुरा हो। यसमा सबै मिलेर अघि बढ्नु पर्छ’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ। मैले प्रस्ताव राख्छु।’ केही दिनमै यस विषयमा छलफल गर्ने तयारी रहेको र ठोस निर्णय लिने प्रधानमन्त्रीको भनाई रहेको बताइएको छ।
हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उनलाई एकीकृत समाजवादीको समर्थन छ। यसअघि विश्वासको मत लिँदा भट्टलाई नेपाली काँग्रेसले मतदान नगरी तटस्थ बसेको थियो। हाल ५२ सदस्य रहेको सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादीका १३ र काँग्रेसका १२ सांसद छन्।
प्रतिपक्षी एमालेसँग १० सांसद छन् भने साना दलका २ सांसद छन्। यसअघि विश्वासको मत लिँदा मुख्यमन्त्री भट्टले ३० मत पाएका थिए। तर, काँग्रेसले उनलाई मत नदिई तटस्थ बसेको थियो। गठबन्धन सरकारको ठूलो दल काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने माओवादीले सुदुरपश्चिम, कर्णाली र लुम्बिनीसमेत गरी तीनवटा प्रदेशमा मुख्यमन्त्री पाएको छ।