काठमाण्डौँ । नेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।
अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली तथा अष्टलक्ष्मी शाक्य एवम् स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् । अध्यक्ष मण्डलमा उपाध्यक्ष भीम रावल भने अटाएनन् । सुदूरपश्चिम प्रदेशको ईञ्चार्जको जिम्मेवारी नपाएपछि असन्तुष्ट रहेका रावल विधान महाधिवेशनको अध्यक्ष मण्डलमा समटिएका छैनन्।
नेकपा माओवादी केन्द्र छोडेर आएका स्थायी कमिटी सदस्य रामबहादुर थापा पनि समेटिएका छन् ।माधव नेपाल समूह छोडेर एमालेमा बसेका उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै आएका छन् । साथै उनले पार्टीलाई २०७५ साल जेठ दुई कै परिस्थितबाट अघि बढाउनुपर्ने र आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।