नेकपा एमालेका स्थायी कमिटी नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दाबी गरेका छन् । १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकपछि नेता भट्टले यस्तो बताएका हुन् ।
विवाद देखिएका ठाउँमा कुरो मिलाउने सहमति भएको छु, उनले भने बाहिर आए जस्तो सुदूरपश्चिममा कुनै विवाद छैन। त्यहाँको इन्चार्ज अहिले पनि म नै हो।नेता भीम रावल र भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । कार्यदलका संयोजकसमेत रहनुभएका रावलले यो विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे ।
आजको बैठकमा नेता भट्टले पार्टीको आन्तरिक एकता अझै बलियो बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि २०७५ साल जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्यदल सदस्यसमेत रहेका भट्टले बताए। कार्यदलमा संयोजक भीम रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन्।


