धनगढी। सुदूरपश्चिम प्रदेश सभामा दुई विधेयक टेबुल गरिएको छ । सोमबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनको २५ औँ बैठकमा दुई वटा संशोधन विधेयक टेबुल गरिएको हो।
प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदले प्रदेश सभामा टेबुल गरेका हुन। यस्तै प्रदेश सभामा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को बजेट खर्चबारे महालेखा परीक्षकले तयार पारेको वार्षिक प्रतिवेदन २०७८ पनि पेस गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङले सोमबार प्रदेश सभामा सो प्रतिवेदन पेस गरेका हुन। सो प्रतिवेदनलाई अध्ययन छलफलका लागि संसद्को सार्वजनिक लेखा समितिमा पठाइने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । प्रदेश सभा बैठकमा सामाजिक विकास समितिले तयार पारेको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो। सुदूरपश्चिम पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भइ तयार पारिएको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले प्रस्तुत गरेकी हुन । अब प्रदेश सभाको अर्को बैठक मङ्गलबार बोलाइएको छ ।