धनगढी। सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शुक्रबार मन्त्रीमा नियुक्त भएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको हितमा इमानदारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका हुन्। वाषिर्क बजेट विनियोजन भइसकेको अवस्थामा आफूले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउनु चुुनौतीपूर्ण भएपनि सबै पक्षसँगको समन्वय र सरसल्लाहमा अघि बढ्ने उनले जानकारी दिए ।
तामाङले भने, ‘प्रदेश सरकार बजेट विनियोजन गरिसकेको अवस्थामा हामी आर्थिक मामिला मन्त्री र राज्यमन्त्रीमा नियुक्त भएको छौं’, ‘चुनौतीपूर्ण भए पनि यो पद जनताकै लागि हो भनेर सकेसम्म जनता र प्रदेशका लागि इमानदारिता र निष्ठापूर्वक काम गर्ने उनको भनाइ छ । मुख्यमन्त्री त्रिलोचन भट्टले शुुक्रबार आर्थिक मामिला मन्त्रीमा तामाङ र आर्थिक मामिला राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरेका थिए । पार्टी विभाजनपछि विगतमा माधव नेपाल समूहमा रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले आर्थिक मामिलामन्त्री र अर्चना गहतराजले राज्यमन्त्री पदबाट २२ भदौमा राजीनामा दिएका थिए ।