धनगढी। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्ने बताएका छन् ।
नेकपा एमाले विभाजनपछि पहिलो पटक अछाम पुगेका एमाले उपाध्यक्ष रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद कुरा भएको र विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्ने बताएका हुन् । सदरमुकाम मङ्गलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाए।
उनले भने,-“दुई महिनादेखि सरकार विस्तार भएको छैन, सत्ता साझेदार दलहरू बढी कमिसन आउने मन्त्रालय ताकेर बसेका छन्, यो जनताप्रतिको चरम उदासीनता हो” नेता रावलले भने। उनले थपे, “नेपालमा प्रजातन्त्रको स्थापना तथा बजेट जारी गर्ने प्रक्रिया सुरु भएदेखि हालसम्म नभएको घटना भएको छ। बजेट संसदबाट पारित हुन नसकी अब सरकारले खर्च गर्न नपाउने अवस्था आएको छ, यो भन्दा दुःखपूर्ण अरू के हुन्छ।” एमाले उपाध्यक्ष रावलको भनाइ छ।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले आफूले जहिले पनि निःस्वार्थ रूपमा देश र जनताको भलाई, पार्टीको हित तथा राष्ट्रियताको पक्षमा आवाज उठाइरहेको प्रस्टोक्ति दिए । दुई नेता (केपी र माधव) बिच सहमति भई पार्टीलाई मिलाउनुपर्छ भनेर कार्यदल बनाएदेखि आफूले पार्टी एकताकै लागि काम गरिरहेको जिकिर गर्दै पार्टी टुटफुटको पीडा सिङ्गो देश र एमालेले नराम्रोसंग भोगिसकेकाले पार्टी विभाजन कुनै हालतमा देश हितमा नरहेको धारणा राखे ।
आफूले विषय र गुणदोषका आधारमा बोल्ने गरेको तर राष्ट्रियता, स्वाधीनता र अखण्डता पार्टी भन्दा माथि रहने पूर्व उपप्रधान, गृह तथा रक्षा मन्त्री रहनु भएका नेता रावलको भनाइ छ ।“हरेक देशभक्त व्यक्तिले राष्ट्रियता, स्वाधीनता तथा अखण्डतामा प्रश्न उठ्ने बेला देशलाई माथि राख्नुपर्छ ” नेता रावलको भनाइ छ । आफूले वर्षौँदेखि माया गरेका र भरोसा गरेको एमालेको पङ्क्ति एमालेमै रहेको भन्दै पार्टी त्यागेकाहरूलाई समयले नै जवाफ दिने बताए। अध्यादेशबाट एमाले विभाजन भएपछि अछाममा एमालेबाट निर्वाचित स्थानीय तहका २ सय १५ जना जनप्रतिनिधि मध्ये २७ जनाले नेकपा एकीकृत समाजवादीमा शनाखत गराएका छन् ।