कैलाली। सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) का दुई जना प्रदेश सभा सदस्य पनि बिभाजन भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष निर्वाचित चौधरी राजपा पक्षमा थिए । बिगतमा राजपा पक्षकै प्रदेशसभा सदस्य मलामती कुमारी रानाले भने महन्त ठाकुरको साथ छोडेकी छन् । उनले आफू जसपामै रहने बताइन् ।
निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ (मंगलबार)सम्म दल रोज्ने समय दिएको छ। ५२ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल (१४ सांसद) बनेको छ। यस्तै, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र एमालेका सभामुख सहित ११ सांसद छन्।