काठमाडौँ। नेकपा एमालेले रिक्त ५५ केन्द्रीय सदस्यमा माधव नेपाल खेमाकै नेताहरुलाई ल्याउने तयारी गरेको छ । २०७५ जेठ २ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फमा सनाखत गरेपछि एमालेमा हाल ५५ पद रिक्त छ ।
रिक्त पदपूर्ति गर्दा तत्कालीन नेपाल खेमाको विचार समूहमा रहेका तर हाल एमालेतर्फ खुलेका नेताहरूमध्येबाटै चयन गरिने एमालेले जनाएको छ । रिक्त ५५ जना केन्द्रीय सदस्यको सिफारिस भने नेपाल समूह छोडेर अन्तिम समयमा एमालेमा समाहित भएका १० स्थायी कमिटी सदस्यले गर्नेछन् । ५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाल समूहमा आवद्ध भएका तर हाल एमालेतर्फ खुलेका मध्येबाटै रिक्त पदपूर्ति गर्ने भन्दै रावल र पाण्डेलाई सदस्य सिफारिसको जिम्मा दिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमति अनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशन अघि नै लगाइने तयारी छ । उनले विधान अधिवेशन अघि पार्टी छाडेका ५५ जना र मनोनयनमा पर्ने २० जना गरी ७५ जनालाई विधान अधिवेशन अगावै केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी रहेको बताए । ‘साथीहरू कसलाई केन्द्रमा लैजाने भन्ने विषयमा छलफलमा हुनुहुन्छ चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउँछ,’ तामाङले भने ।
सदस्य तान्ने होडबाजी
एमाले विभाजन भएसँगै दुबै पार्टीका नेताहरू एकले अर्को पार्टीका नेता तानेर केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रतिस्पर्धामा उत्रिएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पनि चाँडै केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै सम्भव भएसम्म एमालेमा आवद्ध नेताहरूलाई तानेर केन्द्रीय सदस्य बनाउने प्रयास थालेको छ । एमालेले पनि केन्द्रीय सदस्य नभएका तर पार्टीभित्र राम्रो प्रभाव राख्ने तर हाल नेकपा (एकीकृत समाजवादी)मा खुलेका नेताहरूलाई केन्द्रीय सदस्यको अफर गरिरहेको छ ।
नेकपा नेकपा (एकीकृत समाजवादी) का नेता बेदुराम भुसाल केन्द्रीय कमिटीले राष्ट्रिय भेलाबाट पूर्णता पाउने बताउँदै अधिकांश एमालेका नेताहरू भेलाबाट आफ्नो पार्टीमा समाहित हुने दाबी गर्छन् । ‘एमालेका धेरै साथीहरू हामीसँग आउँदै हुनुहुन्छ, उहाँहरू केन्द्रीय कमिटीमा अटाउने ‘हेभीवेट’का हुनुहुन्छ,’ भुसालले भने