कैलाली। कैलालीका स्थानीय तहका जनप्रतिनिधि पनि नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न थालेका छन् । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित तीन जनाले सनाखत गरेका छन् ।
मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित कार्यपालिका सदस्य विशाल पहराई र वडा सदस्य चन्द्रकला कामीले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। उनीहरुले प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत जनाइएको छ । मंगलबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सदस्यले एमाले छाडेर एकीककृत समाजवादी रोजेका थिए। अन्य तीन जना प्रदेश सांसदले आज सनाखत गर्ने भनिएकोमा भोलि स्थानीय तहका जनप्रतिनिधिसंगै सनाखत गर्ने तयारी गरेका छन्। यसअघि सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका थिए ।
निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ । आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिकालागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउन सकिने जनाएको छ। प्रदेशसभा सदस्य तथा स्थानीय तहको सदस्यका लागि सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको प्रमाणित पत्र अनिवार्य गरिएको छ ।