धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेशकी प्रमुख सचेतक दुर्गाकुमारी बिक माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीतर्फ खुलेकी छिन् ।
नेकपा एमाले विभाजनपछि कुनै पक्षमा पनि नखुलेकी बिक एमालेबाट अलग्गिएर माधव नेपालले आफ्नो नेतृत्वमा गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने बिकले घोषणा गरेकी हुन् । बिक एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट समानुपातिक सांसद हुन् । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी बिकले विगतमा नेता रावलकै कारण नेपाललाई साथ दिँदै आएकोमा अहिले उनले आफूहरूको साथ छाडेको बताइन् ।
बिकले एमाले विभाजनका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएका १७ जनामध्ये कम्तीमा पनि १३ जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) तिर लाग्ने बताइन् । यद्यपि धेरै जना अहिले खुलिसकेका छैनन् । बिकसँगै अहिलेसम्म आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, पूर्वउद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र प्रदेशसभा सदस्य अमरबहादुर साउद मात्र एकीकृत समाजवादी पार्टीतिर खुलेका छन् ।