बिराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिएका हुन् ।
उनले दलको नेताबाट राजीनामा दिएसँगै बैठकले एमाले सचिव समेत रहेका भीम आचार्यलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । मुख्यमन्त्री राईले आचार्यलाई संसदीय दलको नेतामा चयन गर्न गरेको प्रस्ताव बैठकले सर्वसम्मतीले पारित गरेको हो । मुख्यमन्त्री राई संसदीय दलको बैठक सकिएलगत्तै मुख्यमन्त्री पदबाट राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडेका छन् ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले आफूले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएको बताए । बैठकले भावी मुख्यमन्त्रीका रुपमा आचार्यलाई अगाडि सार्ने निर्णय पनि गरेको उनले बताए । एमाले विभाजनपछि प्रदेश १ को संसदीय दलको बैठक पहिलो पटक बसेको हो । माधव कुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाइँदैछ ।