धनगढी। नेकपा एमाले उपाध्यक्ष भीम रावल झण्डै ६ महिनापछि पार्टी बैठकमा उपस्थित भए। लामो समय माधवकुमार नेपाल समूहमा रहेका रावल ६ महिनासम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।
तर बोलाइएको बैठकमा भने उनी सहभागी भएका हुन्। अध्यक्ष ओलीले स्थायी कमिटी सदस्यमा नियुक्त गरेका पूर्वमाओवादी नेता लेखराज भट्ट पनि बैठकमा सहभागी भए। रावल र भट्ट नेकपा एमालेको बैठकमा संगै सहभागी भएको भने पहिलो हो। विगतमा नेकपा हुँदा भीम रावल सुदूरपश्चिम इन्चार्ज थिए। पुस ५ मा प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेकपाको ओली समूहले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनायो।
दाहाल-नेपाल समूहका तर्फबाट रावल नै रहे। फागुन २३ गते सर्वोच्चको फैसलाबाट नेकपा नाम खारेज भई एमाले र माओवादी व्युँतिएपछि नेताहरु समूह छाडेर आ-आफ्नो पार्टीमा फर्किए। तर लेखराज भट्ट फर्किएनन्। नेकपामा ओली समूहमा भट्ट इन्चार्ज थिए। इन्चार्जको नेम प्लेट राख्दा कैलालीमा एमालेभित्रका दुई समूहबिच कुटाकुट समेत भएको भयो। प्रदेश समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा भट्टलाई बोलाउने गरिएको थियो। त्यो समयमा दुबै नेताबीच सम्बन्ध राम्रै थियो। नेकपामा हुँदा रावल ओलीको चर्को विरोध गर्न थाले भने ओली क्याबिनेटमा मन्त्री पाएपछि भट्ट पुष्पकमल दाहाल प्रचण्डबाट टाढिएर ओली नजिक भए।
त्यसपछि रावल र भट्टबीच पनि दूरी बढ्दै गयो। संसद विघटनपछि भट्टले ओलीलाई साथ दिए भने रावलले प्रचण्ड र माधवकुमार नेपाललाई साथ दिए। भट्टलाई एमाले स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इञ्चार्ज बनाईयो। रावलले भने माधव समूहमा रहेर ओलीको चर्को विरोध गरिनै रहे। तर प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नियुक्तीपछि रावलले पनि नेपाललाई साथ दिएनन्। उनले सयुक्त कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै एमाले विभाजनको खुलेरै विरोध गरे। रावल र भट्ट एमालेमै रहने भएपछि अब ओलीले सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी कसलाई दिन्छन् होला ? भन्ने चाँसो बढेको छ। तर जेठ २ मा फर्केपछि रावल सुदूरपश्चिम इन्र्चाज स्वत भएको नेताहरुको भनाई छ ।