धनगढी । सुदूरपश्चिम प्रदेशबाट कानुनमन्त्री पुर्णा जोशी र पुर्ब उद्योग तथा पर्यटन मन्त्री माया भट्ट नेकपा एमाले समाजवादीमा लागेका छन् । बुधबार मात्रै एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गरे सँगै कानुनमन्त्री जोशी र पुर्ब उद्योग तथा पर्यटन मन्त्री भट्ट पार्टिमा लागेका हुन् ।
नेपालको पार्टीमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । माधव कुमार नेपालसहितका नेताहरूले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।
जसमध्ये नेकपा एमाले (समाजवादी)का सुदूरपश्चिमका सात केन्द्रीय सदस्यहरुमा रहेका छन् । नेपाल समूहमै रहेका भीम रावलले अन्तिम समयमा नेपाललाई साथ नदिएपछि केन्द्रीय सदस्यमा प्रदेशबाट सात जना मात्रै परेका हुन् । मदन कुमारी शाह गरिमा,निरादेबी जैरु,प्रेम बहादुर आले,भानुभक्त जैसी उर्वादत्त पन्त, माया भट्ट र पूर्णा जोशी केन्द्रीय समितिमा रहेका छन् ।
यस्तै, विगतमा माधव समूहमै रहेका एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपकप्रकास भट्ट, देउवालाई विश्वासको मत दिएका लक्ष्मीकुमारी चौधरी, विना बुढाथोकी लगायतले तत्काल नयाँ पार्टीमा नजाने संकेत गरेका छन्। प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन्। जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए। डोटीका आले र डडेल्धुराकी जैरुबाहेक अछामका भीम रावल, कैलालीकी लक्षमीकुमारी चौधरी, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट नेपाल पक्षमा थिए।
तर आले र जैरुबाहेक विगतमा माधव समूहमा रहेका अन्य सासंद अहिले नयाँ पार्टीमा नगएका हुन्। कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन्। यस्तै समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन्।