काठमाडौं। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरेको छ ।
भारतीय स्वतन्त्रता दिवसका दिन मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै सो माग गरेको हो। भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेका थिए। तर, भारतले आफ्नो पक्षबाट भएको अपराध अहिलेसम्म स्वीकार गरेको छैन।
नेपाल सरकारको तर्फबाट छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ । सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक हिँड्न डुल्न नपाउनु सरासर मानव अधिकारको हनन भएको मोर्चाले जनाएको छ। जयसिंह धामीलाई बेपत्ता बनाउनुमा केवल एसएसबीको हात रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो र यो अपराध एसएसबीबाट भएको छ ।
धामीको खोजी गर्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु इन्डियाको अमानवीयमात्रै होइन साह्रै घिनलाग्दो चरित्र हो । यसले इन्डिया आफ्ना छिमेकीमाथि जस्तोसुकै दुर्व्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको छ ।’ मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत कम्तीमा १ करोड भारु उपलब्ध गराउन माग गरेको छ ।