धनगढी। कैलालीमा बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको घटना मिलाइएको पाइएको छ।
कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोपमा प्रहरी र जनप्रतिनिधिको रोहबरमा मिलाइएको पाइएको हो।
उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाएको वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले स्वीकार गरेका छन्। उनले छुनुकलाललाई साढे तीन लाख दण्ड गराएर मिलापत्र गरिएको स्वीकार गरेका हुन्। ‘छुनुकलालले राति ३ बजे घरमा पसेर बिजुलीको तार काट्दै बालिकामाथि हातपात गरेका थिए,’ उनले भने।, ‘उक्त घटनापछि प्रहरीमा निवेदन दिएका थियौँ।
तर छुनुकलाल फरार भएका थिए।’उनका अनुसार केही दिन फरार रहेका छुनुकलाल दु्ई दिनअघि घर फर्किएपछि साढे तीन लाखमा घटना मिलाइएको हो। ‘प्रहरी चौकीमा गएर साढे तीन लाख तिराउँदै घटना मिलाएका हौँ,’ वडा सदस्य चौधरीले भने, ‘डेढ लाख पीडित परिवारलाई दिएका छौँ। छुनुकलालको खोज तलास गर्ने क्रममा एक जनाको मोटरसाइकल दुर्घटना भएपछि मोटरसाइकल मर्मतका लागि एक लाख तिरेका छौँ।
बाँकी एक लाख छुनुकलालको खोजी गर्दा गाउँलेले खाएको नास्ताको तिरेका छौँ।’यता स्थानीयले बलात्कार प्रयासको घटना साढे तीन लाखमा मिलापत्र गराइएको भन्दै विरोध जनाएका छन्। एक जना स्थानीयले भने ‘जवरजस्ती करणी उद्योगमा मुद्धा चल्नुपर्ने थियो। तर जनप्रतिनिधि र प्रहरीले नै घटना मिलाइएको’ छ।
यता अस्थायी प्रहरी पोष्ट बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीले गाउँले नै मिलेर आएपछि मिलापत्र भएको जानकारी दिए ।‘बलात्कार प्रयास भन्ने उल्लेख थिएन। उनले भने, बालिकामाथि हातपातको कुरा निवेदनमा उठाइएको थियो। गाउँले सबै मिलेर आएपछि मिलापत्र भएको हो,’ उनले भने। यता इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले घटनाबारे बुझ्ने जानकारी दिएका छन् ।