काठमाडौं। माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग (मिलेनियम च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन्।
विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रूपमा दस्तावेजमा आउनुपर्ने माग गरे । केही नेताहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको समेत बताए। बैठकमा बोल्ने नेताहरूले भने,‘ एमसीसीबारे व्याख्या गरेर आउनुपर्यो।
शनिबारको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीको पोजिसन दस्तावेजमा स्पष्ट पारिएको बताएका थिए। प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा एक वाक्यमा एमसीसीबारे भनिएको थियो ‘एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेछ ।’ प्रचण्डको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै केन्द्रीय नेताहरूले एमसीसीबारे थप व्याख्या हुनुपर्ने माग गरेका हुन् ।