काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ । दुई दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा चलिरहेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यस अघि बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक र सांगठानिक प्रतिवेदन पारित गरेको थियो ।
सो प्रतिवेदन पनि बैठकमा पेश हुने साथै पार्टीको सांगठनिक संचरना र राष्ट्रिय सम्मेलनको विषयमा समेत बैठकले निर्णय गर्नेछ । माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए। अध्यक्ष प्रचण्डले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश गरेका हुन्।
बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो। यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ।